बुटवल,साउन ५।
नेपाली काँग्रेसका संस्थापक नेता बहुआयामिक व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवसमा रुपन्देहीको देवदहमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
४१ औं विपि स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं १ ले भोली शनिबार माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको क्षेत्रीय सभापति हिराबहादुर खत्रीले जानकारी गराउनु भयो ।
बिहान साढे ११ बजे आयोजना गरिएको प्रतियोगितामा सहभागि हुनको लागि उक्त क्षेत्रमा पर्ने माध्यमिक विद्यालयहरुलाई पत्राचार गरिएको र ४० बढी विद्यालयबाट विद्यार्थी सहभागि हुनेपनि उहाँले बताउनु भयो । प्रतियोगितामा प्रमुख वक्ताको रुपमा नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डे आउनुहुनेछ ।
‘बहुआयामिक व्यक्तित्व विशेश्वरप्रसाद कोइराला’ विषयमा आयोजना गरिएको प्रतितियोगितामा प्रथम हुने विद्यार्थीलाई प्रमाणपत्र सहित ८ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै द्वितीय हुनेलाई ६ हजार रुपैंया, तृतीय हुनेलाई ४ हजार र सान्त्वना हुने २ जनालाई जनही दुई हजार रुपैंया नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने क्षेत्रीय सभापति खत्रीले जानकारी गराउनु भयो ।
प्रतियोगितामा सहभागि भएका सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र तथा विद्यार्थी पठाउने विद्यालयलाई धन्यवाद पत्र प्रदान गरिने छ । त्यस्तै विपिको पुस्तक ‘विपि कोइरालाको डायरी’ पनि वितरण गरिने छ । विपि स्मृति दिवसकै अवसरमा बिहान नेपाली काँग्रेस रुपन्देही तिलोत्तमाको भूपू सैनिकमा बृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)