बुटवल,भदौ १९।
नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र वैचारिक बहसको आवश्यकता औंल्याएका छन्। चाैधाैँ महाधिवेशन नजिकिएसँगै उनले नेतृत्वका लागि दाबी प्रस्तुत गर्ने प्रतिस्पर्धा चलिरहेको भन्दै विचारसहित आउन आग्रह गरे। उनले महाधिबेशन समयमै हुने की नहुने भन्नैमै नेतृत्व समेत अलमलमा रहेकाे दाबि गरे ।
‘नेतृत्वका लागि कलाबिहीन ढंगले उम्मेदवारी प्रस्तुत भइरहेको छ। खोई स्पष्ट दृष्टिकोण ?’, जीपी कोइराला लोकतन्त्र सम्वद्र्धन केन्द्रले बिहीबार गरेको भर्चुअल संवादमा उनले भने, ‘सभापतिमा जो उम्मेदवार हुनुहुन्छ, उहाँहरु हाम्रो नेता हुनुहुन्छ। तर कांग्रेस कस्तो बनाउने रु कांग्रेसको कार्यदिशा के हो ? कांग्रेसको अबको मार्गनिर्देशन के हो? यसमा छलफल हुनुपर्दैन ?’
‘कसको कांग्रेस, कस्तो कांग्रेस भन्ने बहस जरुरी छ,’ उनले भने, ‘दलाल, विचौलियाबाट चल्ने नेकपाजस्तो पार्टी बनाउने हो वा गरिब मजदुरहरुको पार्टी बनाउने कांग्रेसले सोच्ने बेला आइसकेको छ।’
नेता पौडेलले वैचारिक पक्षलाई निरपेक्ष राखेर व्यक्ति मात्रै अग्रसर हुने कुराले कांग्रेसलाई बलियो बनाउन नसक्ने दाबी गरे।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)