बुटवल,असार १९ ।
लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफल गरियोस् भन्ने अर्थमन्त्रीको प्रस्ताब पास भएको छ । सत्तापक्ष र प्रतिपक्ष सांसदहरुका आ–आफ्ना अडानले मँगलबार पनि नाराबाजी भएको छ । सक्षपक्षले बहुमतको बलमा सदन चलाउने प्रयास गर्दा प्रतिपक्षले सरकारको जवाफ माग गर्ने क्रम चलिरहेको छ ।
सभामुख तुलाराम घर्तीले सदनलाई अगाडि बढाउँदै गर्दा प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नारा लगाउँदै संसदबाट बाहिरिएका थिए । सदनमा प्रतिपक्षी दलका सांसदका रुपमा बोल्दै सांसद भोजप्रसाद श्रेष्ठले मुख्यमन्त्री र मन्त्रीहरु छलफलबाट भागिरहेको बताए ।
सांसद श्रेष्ठले संघीयताका नामाम भइरहेको वेथितिप्रति दिक्कदारी प्रकट गर्दै त्यसको जिम्मेवार सरकार रहेको बताए । लुम्बिनी प्रदेश सभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै सांसद श्रेष्ठले सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री, मन्त्रीहरुका गतिविधिले नै वेथिति, विसंगति बढाएको दाबी गरे ।
राजनीतिले जनतामा निराशा छाएको र त्यसले सबै राजनीतिक दलका नेतृत्वप्रति नै वितृष्णा जगाएको उल्लेख गरे ।तर प्रतिपक्षको नाराबाजीकै बीचमा अर्थमन्त्रीले प्रस्ताव पेश गरी त्यसमाथि धारणा राख्ने काम भएको छ । मंगलबारको सदनमा जनमोर्चाकी सांसद तारा थापा, नेकपा एसकी भगवती अधिकारी, राप्रपाका सांसद मिना श्रेष्ठ, रोल्पाबाट निर्वाचित माओवादी सांसद सुरुल पुन, कांग्रेसकै सांसद लोकीकुमारी विकलगायतले बोलेका थिए ।
दाङबाट समानुपातिक सांसद विकले समानुपातिक सांसदहरुका लागि क्षेत्र विकास कार्यक्रममा विभेद गरिएको र त्यसमा सत्ताप्रतिपक्ष दुबैको एकमत रहेको उल्लेख गर्दै दोहोरो भूमिका निर्वाह गरेको गुनासो गरिन् । उनले आफूहरु पनि राजनीति गरेर आएको तर, सदनमा बजेट विनियोजन गर्ने क्रममा विभेद गरिएको बताइन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)