Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भैरहवामा साढे दुई अर्ब लगानीमा पाँचतारे होटल सिद्धार्थ बिलासा संचालन

भैरहवामा साढे दुई अर्ब लगानीमा पाँचतारे होटल सिद्धार्थ बिलासा संचालन

  • 1.0K
    SHARES

  • भैरहवामा साढे दुई अर्ब लगानीमा पाँचतारे होटल सिद्धार्थ बिलासा  संचालन

    बुटवल,असार १४।

    सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिले रुपन्देहीको भैरहवामा पाँचतारे होटल संचालन गरेको छ । साढे दुई अर्ब लगानीमा निर्माण गरिएको सिद्धार्थ बिलासा होटलको सञ्चालन सुरु भएको छ । रुपन्देहीमा यो तेस्रो पाँचतारे होटल हो ।यसअघि पाँचतारे होटलको रूपमा टाइगर पार्टी प्यालेस र पवन इन्टरनेशनल सञ्चालनमा छन् । सिद्धार्थ बिजनेस ग्रुपले २५ वर्षअघि कैलालीमा सामान्य खाजा पसल सञ्चालन गरेर व्यावसायिक यात्रा सुरु गरेको थियो ।

    भैरहवा अञ्चलपुर प्रहरी चेकपोस्टदेखि दुई सय मिटर पश्चिमतिर मायादेवी गाउँपालिका वडा –८ मा पाँचतारे होटल निर्माण गरिएको छ ।चार बिघा क्षेत्रफलमा फैलिएको होटलमा डिलक्स, एक्जुकेटिभ स्विट, स्विट र प्रेसिडेन्ट स्विटगरी चार स्तरमा वर्गीकरण गरिएका ८५ वटा कोठा छन् ।

    समूहका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार होटलमा लबी लाउन्ज, अल डे डाइनिङ, रूप टफ रेस्टुरेन्ट तथा स्विमिङ पुल, फिटनेस, स्पा, साउना, ज्याकुजीसहितको हेल्थ क्लब सेवा, गार्डेन, एउटा सानो र अर्को ठुलो सभा हल, तीन वटा कन्फरेन्स हल तथा क्यासिनो छ ।

    न्यौपानेका अनुसार होटलको पूर्ण सञ्चालनपछि तीन सय जनाभन्दा बढीले रोजगारी पाउने छन् ।ग्रुपका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले सिद्धार्थ होटल तथा रिसोर्टको नाममा भैरहवासँगै, चितवनको सौराहा, दाङको लमही र विराटनगरमा पाँचतारेदेखि लक्जरी रिसोर्टसम्म सञ्चालन सुरु गरिसकिएको जानकारी दिनुभयो ।

    भैरहवाको डिलक्स पाँचतारे होटल ग्रुपकै ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको उहाँको भनाइ छ । दाङको लमहीमा पनि चारतारे होटल सञ्चालनमा आइसकेको उहाँले बताउनुभयो ।

    भैरहवाको पाँचतारे होटलमा समूहको आफ्नै लगानी छ । चार वटा होटल र रिसोर्ट थपिएपछि सिद्धार्थ समूहका होटल, रिसोर्ट र क्याफेको सङ्ख्या ३० पुग्नेछ । होटल मात्र १९ वटा हुने छन् ।समूहले हस्पिटालिटी क्षेत्रको २५ वर्षे व्यावसायिक यात्रामा पाँचतारे होटल भने पहिलो पटक सञ्चालन गरेको हो ।

    ‘ट्रेडिङतर्फ सिद्धार्थ हस्पिटालिटी मार्ट र आइटीतर्फ सर्व टेक्नोलोजी, कृषि उत्पादनतर्फ बायोटिका, इन्स्टिच्युटतर्फ सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी ब्रान्ड नाममा सेवा प्रवाह तथा वस्तु उत्पादन गर्दैआएका छौँ’ अध्यक्ष न्यौपानेले भन्नुभयो ।

    बाह्य पर्यटकलक्षित तीनतारे र चारतारे होटल भने यसअघिदेखि नै सञ्चालन गरिरहेको छ । कटेज तथा रेस्टुरेन्ट व्यवसायबाट यात्रा विस्तार गरेको समूहले बुटवलमा सिद्धार्थ कटेज तथा रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ । समूहले हस्पिटालिटीसँगै विभिन्न सेवा तथा उत्पादनको क्षेत्रमा पनि लगानी गरिरहेको अर्का संचालक योगराज कडेलले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology