दाङ,असार ७ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले दाङबाट मिडिया साक्षरता अभियान सुरु गरेको छ ।केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले बिहीबार दाङको तुलसीपुरस्थित मेट्रो कलेजबाट अभियानको सुरुवात भएको घोषणा गर्नु भएको हो ।
अभियान मुलुकका सबै जिल्लाहरुमा संचालन गरिने अध्यक्ष पोखरेलले बताउनु भयो । सामाजिक संजाल प्रयोग कर्ताहरुले फैल्याएको अफबाह चिर्नका लागि पनि मिडिया साक्षरता कक्षा जरुरी परेको अध्यक्ष पोखरेलले बताउनु भएको थियो ।मिडिया हाउसले नागरिकलाई रुचि लाग्ने सामाग्रिमा ज्ञान, शिक्षा र मनोरञ्जन प्रस्तुत गर्ने मात्र नभइ त्यो सत्यको जगमा लेखिने अध्यक्ष पोखरेलले बताउनु भयो ।
सामाजिक संजाल ब्यक्ति बिषेशले आँफुलाई अभिब्यक्त गर्ने माध्यम मात्रै हुने भन्दै अध्यक्ष पोखरेलले त्यसलाई पत्रकारिता मान्न नसकिने त्यहाँ पत्रकारिताको अभ्यासपनि नहुने हुँदा सामाजिक संजालको भ्रममा नपर्न आग्रह गर्नु भएको थियो ।
सामाजिक संजाल प्रयोग कर्ताले ब्यक्तिगत रुपमा आफ्ना मनमा लागेका धारणाहरु सामाजिक संजालमा लेख्न सक्ने भएपनि मिडिया हाउसबाट आउने समाचार सामाग्रीहरु सम्पादकले सम्पादन गरेर मात्रै दिन मिल्ने उहाँले बताउनु भएको थियो ।कोरोना महामारीको समयमा घरको आँगन खनेर कालो माटो वा अंगार निकाले कोरोना लाग्दैन भन्ने भ्रम फैलाउनेहरु समाजिक संजाल प्रयोग कर्ताहरु नै रहेको भन्दै अध्यक्ष पोखरेलले त्यस्ता अफबाफहरुलाई चिर्ने काम मिडिया हाउसहरुले नै गरेको उहाँले बताउनु भएको थियो ।
सामाजिक संजाल प्रयोग कर्ताले ब्यक्तिगत रुचिका कुराहरु लेख्ने भएपनि मिडिया हाउसहरुले नागरिकका रुचिका कुराहरु पस्कने उहाँले स्पष्ट पार्नु भएको थियो ।प्रेस स्वतन्त्रता उपभोक्ताको अधिकारको कुरा हुने हुँदा राजनीतिज्ञ, ब्यूरोक्रेट्सहरुले सामाजिक संजालहरुमा लेख्ने ब्यक्तिगत कुराहरु पत्रकारिता मान्न नसकिने उहाँले बताउनु भयो ।
कार्यक्रमलाई नेपाल प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सञ्तोष सुबेदी र मेट्रो कलेजका प्रमुख वशन्त आचार्यले सम्बोधन गर्नु भएको थियो ।मिडिया साक्षरता अभियानमा सहभागि मेट्रो कलेजमा अध्यनरत कानुन पढी रहेका बिद्यार्थीले समाजिक संजाल र मिडिया हाउसका अन्तरका बारेमा बिभिन्न प्रश्नहरु सोधेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)