बुटवल,जेठ १२ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यता शुुद्धिकरणको लागि मापदण्ड बाहेकका सदस्यहरुलाई सदस्यता त्यागको स्वघोषणा गर्न यहि जेठको १७ गते सम्मको समय दिएको छ ।
नेपाल पत्रकार महासंघको “सदस्यता नविकरण शुद्धिकरण मापदण्ड–२०८०” का आधारमा नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्यहरुलाई मापदण्डमा पर्ने सदस्यहरुको नविकरण नहुने हुँदा त्यसभित्र पर्नेहरुले त्यागको स्वघोषणा गर्न आग्रह गरेको हो । त्यसरी सदस्यता त्यागको स्वघोषणा गर्नेलाई सम्मान गरिने महासंघ रुपन्देहीका सचिव विनोद परियारद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सदस्यता त्यागको स्वघोषणा नगरेमा पनि मापदण्ड अनुसार शुद्धिकरण गरी सदस्यता नविकरण नगरिने महासंघ रुपन्देहीले जनाएको छ । महासंघले पत्रकारितामा तीन वर्षदेखि सक्रिय नरहेको ,राजनीतिक दलको कुनैपनि समितिको पदाधिकारी रहेको ,जनप्रतिनिधि रहेको ,सरकारी तथा सेवा आयोगको स्थायी, अस्थायी र करार सेवामा कार्यरत कर्मचारी ,मिडिया संस्थान बाहेक अन्य संस्थानको कर्मचारी ,कहिलेकाँही मात्र पत्रकारिता गर्ने, गैरसरकारी तथा बित्तीय क्षेत्रका कर्मचारी ।
मुख्य पेशा पत्रकारिता बाहेक अन्य पेशामा रहेकाहरु ,सञ्चार माध्यममा व्यवस्थापक, बजार प्रतिनिधि, प्रशासनिक कर्मचारीहरु ,राजनीतिक दलमा सक्रिय कार्यसमितिका पदाधिकारी सदस्यहरु ,६ महिना भन्दा लामो समयदेखि विदेशमा रहेकाहरु ,स्थानीय प्रदेश र संघीय निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उम्मेद्वार भएकाहरुको सदस्यता खारेज गर्ने र नविकरण नगरिने जनाएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)