बुटवल,मंसिर १९ ।
रुपन्देहीको भैरहवामा महिला ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गरेको आराेपमा एक जना पक्राउ परेका छन् ।झापा स्थायी घर भएका श्याम पाठकलाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरी महिला ट्राफिक प्रहरीलाई हातपात गरेको, ट्राफिक जरिवानाको रसिद च्यातेको र प्रहरीको बर्दी च्यातेको पाइएपछि पाठकलाई हिरासतमा लिएर कारबाही थालिएको प्रहरीले जनाएको छ।
रोहिणी गाउँपालिकास्थित नेपाल-भारत सीमामा चार दिनअघि पाठकले महिला प्रहरीलाई दुर्व्यवहार गरेको प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए। ‘मदिरा सेवन गरेर महिला ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गरेको कसुरमा उनलाई केही सार्वजनिक अपराध मुद्दामा कारबाही थालिएको छ,’ पोखरेलले भने।
पाठकले प्रहरीको चेक प्वाइन्टमा आएर ट्राफिक प्रहरीको ठेली खोसेर ‘कति जरिवाना काटेउ’ भनेका थिए। त्यसक्रममा महिला प्रहरीले प्रतिवाद गर्दा ठेली र प्रहरीको बर्दी च्यातिएको पोखरेलले बताए।
पाठकले आफूलाई कहिले प्रधानमन्त्री, कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मान्छे भन्दै हिँड्ने गरेको प्रहरीले जनाएको छ। पाठकले केही सरकारी वकिललाई समेत फसाएको बताउने गरेका थिए।
‘उनीमाथि यस्ता कुरा गरेर समाजमा हिँड्ने गरेको आरोप रहेछ, पक्राउ परेपछि गुनासो आएका छन्,’ पोखरेलले भने। बिगतमा उनले आफू पन्रकार, अख्तियारको मान्छे, प्रधानमन्त्रीको मान्छे भन्दै सर्बसाधाणलाई धम्काउने,रबाफ देखाउने र थर्काउने गर्दै आएकाे प्रहरीले जनाएकाे छ । पाठकले केही समयघि जिल्ला सरकारी वकील कार्यालय रूपन्देहीका प्रमुख कोशहरी निरौलालाई समेत आफैले फसाईदिएको बताउँथे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)