बविता खनाल/देवदह,जेठ १० ।
रुपन्देहीको देवदहमा भूउपयोग योजना र भूमि अधिकार सम्बन्धी नीतिगत संवाद सम्पन्न भएको छ ।
सोइया महिला स्वावलम्वी संस्थाको आयोजना, स्कुल लाइफ इन नेपालको सहयोग र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, काठमाडौंको सहजिकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष केशमाया थापाको अध्यक्षता र देवदह नगरपालिका नगरप्रमुख ध्रुवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख खरेलले राज्यले लालपुर्जा दिनलाई नभई नदिनलाई हालको निति बनाएको बताउनु भएको छ ।
बैशाख ३१ गते देखि जेठ ३ गते सम्म चलेको तालिमको समापन कार्यक्रममा मेयर खरेलले राज्यले भुमि सम्बन्धि राजश्व निर्धारणमा नगरपालिकाको भुमिका नरहेको भन्दै सुकुम्बासीलाई लालपुर्जाको राजश्व अत्यधिक बढी भएको बताउनु भयो । वहाँले नम्बरी जग्गाको दाँजोमा सुकुम्बासी जग्गाको राजश्व उठाउने कुरा मा विमति रहेको बताउनु भयो ।
सोहि अवसरमा बोल्दै नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकामा भूमिहीन दलित भूमिहीन सुकुम्बासीको रातो फारम ४२४ र अव्यवस्थित बसोबासको १४ हजार ३५७ जनाको फारम भरिएको तथ्यांक दिनुभयो । उहाले यस संस्थाले आफ्नो स्थापना काल देखि नै महिलाहरुलाई विभिन्न सिपमुलक साथै नेतृत्व विकास हुने खालका तालिम दिएर आत्मनिर्भर बनाउने काम गरिरहेको भन्दै प्रशंसा समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाको भूमि शाखाका कर्मचारी अमित तिवारीले नगरपालिकाले भूमि सम्बन्धि गरेको कार्यहरू प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस्तै सामुदायिक आत्मनिर्भर केन्द्रको अभियान संयोजक कल्पना कार्कीले भूउपयोग योजना सम्बन्धि नितिगत व्यवस्थाको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास नीतिगत व्यवस्थाको बारेमा आत्मनिर्भर केन्द्रको अभियान अधिकृत विश्वास नेपालीले प्रस्तुतिकरण गर्नुभएको थियो ।
सोईया महिला स्वावलम्बी संस्थाकी सचिव पुष्पा रास्कोटीको स्वागत तथा परियोजना संयोजक सरिता सापकोटाको संचालन भएको कार्यक्रममा देवदह नगर प्रवक्ता गणेश डुम्रे, देवदह १० का अध्यक्ष यक बहादुर सुनार लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा देवदह १ का अध्यक्ष दिपक नेपाल, २ का अध्यक्ष दल बहादुर राकसकोटी, ३ का अध्यक्ष यज्ञ अर्याल, ४ का अध्यक्ष दमन नाथ रेग्मी, ६ का अध्यक्ष खेम बहादुर थापा, ८ का अध्यक्ष हरि पाण्डे, ९ का अध्यक्ष मोहन जिसी, जनप्रतिनिधिहरु, देवदह नगरपालिकाका कर्मचारी, सोइया महिला स्वावलम्वी संस्थाकी व्यवस्थापक मेनुका न्यौपाने, संस्थाका कार्यसमिति सदस्य तथा कर्मचारी, १२ वटा वडाका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)