भैरहवा,जेठ १ ।
नेपाली कांग्रेसलाई सुधार गर्दै सबैको रोजाईको पार्टी बनाउनका लागि रुपान्तरणको खाँचो रहेको औल्याइएको छ । नेपाली कांगे्रस रुपान्तरण अभियानले रुपन्देहीको भैरहवामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टी नेतृत्वको गलत कार्यशैलीका कारण पार्टी कमजोर बनेको उल्लेख गर्दै रुपान्तरणको खाँचो रहेको औल्याएका हुन् ।
कार्यक्रममा बोल्ने वक्ताहरुले कांग्रेसलाई रुपान्त्रण गर्दै नयाँ कांग्रेस बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले भ्रष्टाचारमा मुछिएका कुनै पनि नेतालाई उम्कन दिन नहुने बताउँदै भ्रष्टचारीको बिषयमा कोहि पनि उद्दार हुन जरुरी नभएको बताए ।
वर्तमान पार्टी नेतृत्वको असक्षमताका कारण पार्टीले लय समात्न नसकेको बताउदै उनीहरुले युवा नेतृत्वले हस्तक्षेप गरेरै भए पनि पार्टी नेतृत्वमा जानुपर्नेमा जोड दिए ।कार्यक्रममा सहभागि कांग्रेसका नेता तथा कार्यकर्ताले नीति महाधिवेशन तथा विशेष महाधिवेशन बोलाएरै भए पनि पार्टीलाई जोगाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य मधु आचार्य, डा. गोविन्द पोखरेल, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्व केन्द्रिय सदस्य गुरु घिमिरे, युवा नेता भुपेन्द्रजंग शाही, लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, पाल्पा सभापति वीरबहादुर राना, रुपन्देही उपसभापति थानेश्वर घिमिरे, कांग्रेस नेताहरु फखरुद्दीन खान, रमा अर्याल लगायतले बोल्दै पार्टीलाई कुनै नेताको निजी मामिला, घरेलु मामिला हुन दिनबाट जोगाउँदै साझा मामिला बनाउनुपर्ने बताए ।
नेपाली कांगे्रसका नेता तथा पूर्व सांसद् प्रमोद कुमार यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सदस्य विष्णु पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा नेताहरुले कांगे्रसलाई युगसापेक्ष रुपान्तरण गर्दै लैजानका लागि अभियानको सरुवात गरिएको बताउँदै सागठनिक सुशासन अभियानलाई पनि सँगै सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)