बुटवल,मंसिर १८-
बुटवलको तिनाउ र दानव नदीलाई आधार बनाएर निर्माण थालिएको तिनाउ दानव करिडोरका स्थानीयले बिरोध जनाएका छन् । उनीहरु चरणबद्ध आन्दोलन थालेका हुन् ।
त्यस क्षेत्रमा पर्ने घर टहराहरुको कुनै व्यवस्थापन नगरि काम थालिएको भन्दै स्थानीयले अबरोध गर्ने चेतावनी समेत दिएका छन् । आज कैलाशनगरमा स्थानीहरुको भेलाले आन्दोलन चर्काेउने निर्णय गरेको छ ।
सो अबसरमा बोल्दै नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले तिनाउ तथा दानव नदी किनारमा निर्माण गरिने करिडोरका लागि काम सुरु हुनुपूर्व स्थानीयको घरबासको उचित ब्यबस्थापन गर्नुपर्ने बताए। उनले कांगेस बिकास बिरोधी नभएको भन्दै जनताको माग सम्बोधन गरेर काम गर्न आग्रह गरे ।
तिनाउ र दानव नदीको दायाँबायाँ निर्माण हुने दुई लेनको सडकका लागि त्यहाँ रहेका घर-टहरा हटाउने गरी लिखित प्रतिवद्धता जनाएका ती निकायहरुले काम सुरु हुनैलाग्दा पनि व्यवस्थापन नगर्दा काममा अवरोध आउन सक्ने चिन्ता बढेको हो ।संघीय सरकारको लगानीमा निर्माण हुन लागेको करिडोरका लागि ७ सय ५ घर-टहरा विस्थापित गर्नुपर्ने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।
तिनाउ र दानव नदीको वारपार ५० किलोमिटर करिडोर निर्माणका लागि ४५ हेक्टर जमिन आवश्यक पर्ने बताइएको छ । करिडोर क्षेत्रमा जग्गा तथा मुआब्जाको समस्या नरहेको स्थानीय निकायहरुले बताएपनि देविनगर तथा बुद्धनगर क्षेत्रमा भएका बस्तिहरुले समस्या ल्याउन सक्ने कार्यालय बताएको छ ।
पहिलो चरणमा ५० किलोमिटर सडकको डिपिआर तयार भई काम सुरु हुन लागेको हो । तिनाउ नदीको वारपार गरी ३५ किलोमिटर र दानव नदीको वारपार गरी १५ किमिमा सडक निर्माण गरिनेछ ।
यसमध्ये तिनाउ नदीको साढे ८ र दानव नदीको साढे ३ किमिका लागि ठेक्का लागेको डिभिजन सडक कार्यालय बुटवलका प्रवक्ता कृष्णबहादुर कुँवरले बताए ।करिडोरको केहिदिन अघि अर्थमन्त्री बिष्णु पौडेलले शिलान्यास गरेका थिए ।
गरीव जनताको ग्यांस वांसको व्यवस्था विना कोरिडोर निर्माण गर्न नदिने भन्दै विहिवार डिभिजन सडक कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका, ४ वटा वडा कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको संघर्ष समितिका अध्यक्ष बावुराम उपाध्यायले बताए ।
ज्ञापनपत्रमा उनिहरुले खोलाको क्षेत्रफल ,सडकको भाग, फुटपात, हरियाली क्षेत्र लगायतको केकती क्षेत्रफल हो टुङगाउन, अर्थमन्त्री विष्णु पौडेलले भनेको र सडक कार्यालयको ईन्जिनियरले भनेको विषयमा फरक तथ्याङक सार्वजनिक भएकोले नदी तटीय क्षेत्रका जनतामा समस्या भएको उल्लेख गरे ।
उनिहरुले कोरिडोर निर्माणको काम शुरुको जिरो विन्दुवाट शुरु नगरेर बिच भागवाट गर्न पनि नहुने माग गरेका छन । भेलामा वडा नम्बर ११ का सदस्य नहकुल शाही, १४ का सदस्य युवराज सारुलेआफुहरुलाई कोरिडोरको वारेमा जानकारी नभएको बताए ।
नेकपा १३ नम्बर ईकाई अध्यक्ष दीपक पन्थी राष्ट्रिय जनमोर्चाका टन बहादुर केसीले जनताको भावना विपरित गएर विकास गर्न नहुने धारणा राखेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)