बुटवल,वैसाख २० ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले दीप प्रज्वलन गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ ।बुटवल–९ तीनकुनेमा साँझ साढे ६ बजे दीप प्रज्वलन गरी दिवस मनाइएको हो ।
जिल्ला शाखा सभापति कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा समाजका निवर्तमान केन्द्रिय सभापति गोबिन्द खनाल ,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,शाखाका पूर्व अध्यक्षहरु महेन्द्र थापा,कृष्ण पराजुली,उपसभापति कपिल ज्ञवाली,सचिव कृष्ण पाण्डे लगायतले बोल्दै राज्यले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभयो ।
‘स्वतन्त्र एवम बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।
संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले उक्त घोषणापत्र जारी गरेको थियो । सोही घोषणा पत्र जारी गरेको दिनको सम्झनामा सन् १९९३ देखि हरेक वर्ष यो दिवस पत्रकारहरूले उत्सवको रुपमा मनाउँदै आएका छन् ।
यो वर्षका लागि युनेस्कोले ‘भविष्यको अधिकार सुनिश्चितता स् मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ नारा तय गरेको छ । नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारको प्रयोग गर्न सक्नेछ भन्ने भावका साथ यो नारा तय गरिएको छ ।
संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेसँगै नेपालले पनि मे ३ का दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)