बुटवल,वैसाख २० ।
प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् ।
नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले गुरुङ, बस्नेत र लिम्बूलाई मन्त्री नियुक्त गरी कार्यभार तोकेको जानकारी दिए । सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये बाँकी रहेका तीनवटा मन्त्रालयमा मन्त्री नियुक्त भएका हुन् ।
कांग्रेसबाट यसअघि पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग बाणिज्य तथा आपुर्ति, एनपी साउद परराष्ट्र र सीता गुरुङ शहरी विकास मन्त्री नियुक्त भइसकेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)