बुटवल,बैसाख १७ ।
निर्माण कम्पनीले आयोजनाहरुमा कतिसम्म लार्पबाही र ढिलासुस्ती गर्छन् भन्ने गतिलो उदाहरण रुपन्देहीमा हेर्न पाइन्छ । गौतमबुद्ध जन्मस्थल लुम्बिनी जाने भैरहवा–लुम्बिनी हुलाकी राजमार्गमै नौँ बर्षदेखि २ वटा पुल अलपत्र परेका छन् ।
“लुम्बिनी पुग्ने सडक त फोरलेन र चिल्लो बनाइएको छ तर बिचमा पुग्दा भने पुल अलपत्र भेटिन्छन्,जसका कारण साघुँरो वान वे बाटोमा सवारी र यात्रुहरु पालैपालो वारीपारी तर्नुपर्छ ।”–लुम्बिनीका पर्यटन ब्यवसायी खिम श्रेष्ठको भनाइ छ । यसले गर्दा लुम्बिनी आउने यात्रु तथा पर्यटकमा नकारात्मक सन्देश गइरहेको छ ।
तिनाउ र दानव नदीमा निर्माणाधिन दुईवटा पुलको प्रगति ९ बर्षदेखि जहाँको त्यहीँ छ, पुल अलपत्र छन् । पप्पु कन्स्ट्रक्सनले समयमै काम नगरेपछि पुलको हालत बेहाल बनेको हो ।
काम नभएपछि सरकारले यसलाइ दिएको ठेक्का तोडेर रमण डीएलओ इन्फाटेक जेभी ललितपुरसँग ठेक्का सम्झौता गरेपनि पुल निर्माणले भने गती लिन नसकेको हो । पप्पुले यी दुवै पुलबाट साढे ५ करोड बढी भुक्तानी लगिसकेको छ । भुक्तानी लगेर काम बीचमै छाडेर भागेपछि गएको पुस २७ मा उक्त ठेक्का तोडेर रमण डीएलओ ईन्फाटेक जेभीसँग सम्झौता भएको थियो ।

तिनाउ र दानव नदीमा बनिसक्नुपर्ने यी पुलहरुका अहिलेपनि दुई वटा पिलर मात्र ठड्याएर राखिएको छ । आधा भागमा ढलान गरेर छाडिएको छ । १० करोड ३० लाखमा दुई वर्षभित्र बाँकी काम सम्पन्न गर्ने गरी रमणलाई ठेक्का दिए पनि अहिले यो कम्पनीले पनि कामै अगाडि बढाएको छैन ।
पुल निर्माणको ठेक्का लिएको पप्पुले पटक पटक म्याद थप्दै अलपत्र पार्दै गरेपछि सडक विभागले गत वर्ष पप्पुसँगको सम्झौता तोडेर रमणलाई ठेक्का दिएको हो । पुल बनाउन भन्दै पप्पुले करिब १३ करोडमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता पश्चात तिनाउ पुलमा करिब ४० प्रतिशत र दानवमा करिब ३० प्रतिशत काम गरेर पप्पु कन्स्ट्रक्सन भागेको थियो ।
पप्पुसँग तिनाउ खोलाको पुल निर्माणका लागि ६ करोड दुई लाख ५६ हजारमा ठेक्का सम्झौता भएको थियो । त्यसैगरी दानव नदीको डण्डा पुल निर्माणका लागि ५ करोड ५६ लाख ८० हजार १ सय १५ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।
हुलाकी सडक आयोजना कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले तिनाउ खोला र डन्डा नदीमा पुल निर्माणको काम गर्ने ठेक्का रमण रियल होम इन्फोटेक जेभीले पाएपछि छिटो सम्पन्न गर्न निर्देशन दिएको बताउनुहुन्छ । योे वर्षभित्र तिनाउ पुल सम्पन्न गर्ने र अर्को वर्ष अर्को पुलको काम थाल्ने गरी ठेकेदारले काम गरिरहेको उहाँको दाबी छ ।
लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राई लुम्बिनी आउने ९० प्रतिशत पर्यटक यही पुल हुँदै आउने गरेको बताउनुहुन्छ । स्थानीय रमेश चौधरी भन्नुहुन्छ—“एकातिर पर्यटकले सास्ती पाएका छन्,अर्काेतिर सवारीको लामले स्थानीयले थप हैरानी खेप्नुपरेको छ ।”
२५ असार २०७१ मा पप्पु बागमती जेभीले २ वर्षमा काम सक्ने गरी जिम्मा लिए पनि म्याद थपसहित २०७५ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्ने अवधि रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)