गुल्मी,वैशाख१६ -
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मुलुकको परिवर्तनका लागि नेपाली पत्रकारिता जगतले अग्रणी भूमिका खेलेको बताएका छन । शनिबार गुल्मीको सदरमुकाम तम्घासमा नेपाल पत्रकार महासंघ गुल्मी शाखाको १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पाेख्रेलले उक्त कुरा बताएका हुन।
नेपालमा व्यवस्था परिवर्तनमा लेखेर मात्र होइन भौतिक रुपमा उपस्थिति नै भएर लोकतन्त्र प्राप्तिका लागि नेपाली पत्रकारले अग्रणी भूमिका निभाएका कारण विश्वले नै नेपाली पत्रकार र पत्रकारिता जगतलाई फरक आयामका रुपमा चिन्ने गरेको बताए ।
विकासका प्रक्रियामा पत्रकारितालाई जोड्न नसके राम्रो प्रतिफल नआउने बताउँदै भौतिक विकास, चेतना र राज्यले प्रदान गर्ने सेवामा पत्रकारिताको उपस्थितिले ज्यादै महत्व राख्ने उल्लेख गरे। उनले संञ्चार साक्षरताको आवश्यक औल्याउँदै राज्यले प्रदान गर्ने सेवामा जनताको समान पहुँचका लागि पत्रकारिता जगतले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
अध्यक्ष पोखरेलले पत्रकारले पस्केका सामग्रीप्रतिको विश्वसनीयता माथि पनि प्रश्न उठ्ने गरेकाले नैतिक धरातलमा उभिएर काम गर्न पत्रकारहरुलाई निर्देशन दिंदै सञ्चार क्षेत्र करेक्सन हुन तयार रहेकाे बताए। उनले शाखाहरूलाई शुद्धीकरण अभियानमा लाग्न पनि निर्देशन दिए ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख तथा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले पत्रकारिता लोकतन्त्रको खम्बा भएको बताए। नेपाली राजनीतिका थुप्रै परिवर्तनमा नेपाली पत्रकारिताले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै पत्रकार बिनाको शासन व्यवस्था तानाशाही जस्तै हुने उनकाे भनाई थियाे । नगर प्रमुख पन्थीले कोभिड-१९, भुकम्प, बाढी पहिरो, आगलागी लगायतका विपत्जन्य अवस्थामा गुल्मेली पत्रकारले खेलेको भूमिकाको प्रशंसा गर्दै पत्रकार सामाजिक कार्यमा पनि जोडिएका छन् भन्ने सन्देश प्रवाह गरेको बताए ।
कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष हरिकुमार श्रेष्ठ ,जनार्दन घिमिरे, घनश्याम गाैतम र नवराज भुषाललाई सम्मान गरिएकाे थियाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)