बुटवल,बैसाख १४ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनु भएको छ । बिहीबार दिउँसो ५३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
चौधरीले प्रदेश प्रमुख शेरचन समक्ष प्रदेश सभाका बहुमत सांसद ५३ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो ।त्यसैका आधारमा बिहीबार ६ बजेपछिप्रदेश प्रमुख शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित काँग्रेस नेता चौधरी २०७४ सालमा पनि दाङकै संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको पालामा लेखा समितिको सभापतिको जिम्मेवारी निर्वाह गरि सकेका नेता हुनुहुन्छ ।
पोखरेल पछि मुख्यमन्त्री भएका रोल्पाका नेकपा माओबादी केन्द्रका नेता कुलप्रशाद केसी मुख्यमन्त्री छँदा चौधरी ग्रामिण, पर्यटन तथा नागरिक उड्यन मन्त्री हुनुहुन्थ्यो । चौधरीलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक अन्य सबै दलहरुका समर्थन रहेको छ ।
काँग्रेस नेता चौधरी माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राजमो, एकीकृत समाजवादी लगायतको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो ।
८७ सदस्य लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन प्रयाप्त हुने गर्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४ – ४ , जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३ – ३ , राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १ – १ र स्वतन्त्रबाट १ सांसद रहेका छन ।पछिल्लो समय एमालेका लीला गिरी मुख्यमन्त्री हुँदा भने काँग्रेस सत्ता बाहिरै बसेको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)