भैरहवा, ४ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का बासिन्दालाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने सहमति भएको छ । आइतबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ कार्यालय र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा अन्तर्गत रक्त संचार सेवा केन्द्र, बुटवल-इकाई, भैरहवाबीच निःशुल्क रगत उपलब्ध गराउने सहमति भएको हो ।
सम्झौतापत्रमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ कोतर्फबाट वडाअध्यक्ष उज्जवल पोखरेल र नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्रकोतर्फबाट रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार रक्त संचार सेवा केन्द्र भैरहवा र बुटवलले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का बासिन्दालाई आवश्यक रगत निःशुल्क उपलब्ध गराउनेछ ।
निःशुल्क रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को बासिन्दा भएको प्रमाणित हुने कुनै किसिमको कागजात नागरिकता, मतदाता परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी, बसोबासको प्रमाण, सिफारिस लगायतको प्रतिलिपि बिरामीका आफन्तले रक्त संचार सेवामा रगत वा रक्ततत्व लिन आउँदा पेश गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
सिद्धार्थनगर–१ का बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने र वडा नम्बर १ बाट रक्त संचार सेवा भैरहवाको लागि वडाभित्र रगत संकलन कार्यमा सहयोग गर्ने सम्झौतापत्रको उद्देश्य रहेको वडाअध्यक्ष उज्जवल पोखरेलले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)