बुटवल,बैसाख ४ ।
बुटवलको दुइ वटा पसलले किसानको पसिनाको मूल्यमाथि ‘मजाक’ गरेका छन् । कस्तुरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले दुध खरिद गरेको किसानको रकम तिर्न ढिलाइ गरेपछि किसानहरुले नै धर्ना दिनुपरेको हो ।
रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दुध बेचेका किसानहरु रकम नपाएपछि दुवै पसल अगाडि किसानले धर्ना दिएका छन् ।
‘पटक पटक पैसाको माग गरेपनि कस्तुरी र पाठकले पैसा तिर्न आनाकानी गरेपछि धर्ना दिन बाध्य भएका हौ’ सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेले भने । उनका अनुसार कस्तूरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले गरी कुल २५ लाख ३० हजार ४ सय रकम किसानको दिन बांकी छ ।
कस्तुरी मिष्ठान्न भण्डारले १३ लाख ७० हजार ४ सय र पाठक दुध डेरीले ११ लाख ६० हजार तिर्न बांकी रहेको उनले बताए । पटक पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउंदै आएकाले अनिश्चितकालीन धर्ना शुरु भएको उनीहरुको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)