बुटवल,मंसिर १६-
देशभरका ३ सय ९६ स्थानीय तहमा सरकारले सोमबार एकै दिन आधारभूत अस्पतालको शिलान्यास गरेको छ। स्वास्थ्य क्षेत्रमा राज्यको लगानी वृद्धि गरी पालिकातहमा अस्पताल निर्माण शुरु गरिएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भने,-‘स्वास्थ्य क्षेत्रमा यस खालको युगान्तकारी काम पहिले भएको थिएन।’ सातै प्रदेशमा सरुवा रोग अस्पतालको पनि शिलान्यास गरिएको गौतमले जनाए। यसअघि स्वास्थ्यमा गरिने लगानीलाई खर्चका रूपमा लिने गरिएको थियो। तर, अहिले स्वास्थ्यमा बजेट विनियोजनलाई लगानीकै रूपमा हेर्न थालिएको विज्ञको टिप्पणी छ।
चालु वर्षको नीति तथा कार्यक्रममा सरकारले पालिकामा ५, १० र १५ शड्ढयाको अस्पताल र सातै प्रदेशमा सरुवा रोग अस्पताल सञ्चालन गर्ने जनाएको थियो। ७ सय ५३ स्थानीय तहमध्ये अस्पताल नभएकाको संख्या ६ सय ४९ छ। बाँकी पालिकामा अस्पताल निर्माण गर्न आगामी वर्ष बजेट व्यवस्थापन गरिने प्रवक्ता गौतमले बताए।
जिल्ला अस्पतालबाट प्रवाह गरिँदै आएको स्वास्थ्य सेवा गाउँपालिकास्तरमै उपलब्ध गराउने प्रयास सुरु भएको मन्त्रालयले जनाएको छ। यसअघि ०४८ सालमा तत्कालीन स्वास्थ्यमन्त्री डा रामवरण यादवको पालामा हरेक गाउँ विकास समितिमा उपस्वास्थ्य चौकी बनाउने कार्य थालिएको थियो। ‘त्यो बेला पनि धेरैले युगान्तकारी भनेर प्रशंसा गरेका थिए’, गौतमले भने, ‘अहिले एउटा पालिकामा डाक्टरसहितको अस्पताल निर्माणको सुरुवात भएको छ।’ दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने जनाइएको छ।
डा यादवका पालामा भएको उपस्वास्थ्य चौकी बनाउने कामको थालनीलाई २३ वर्षपछि स्वास्थ्य चौकीमा स्तरोन्नति गरिएको थियो। तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीका पालामा उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गरिएको थियो।
अहिले वडामा स्वास्थ्य चौकी छन्। स्वास्थ्य चौकी नभएको स्थानमा स्वास्थ्य केन्द्र छन्। आधारभूत अस्पतालमध्ये प्रदेश १ मा ८६ वटा बनाइने भएको छ। त्यस्तै, प्रदेश २ मा ५३, बाग्मतीमा ५१, गण्डकीमा ५३, लुम्बिनीमा ५७, कर्णालीमा ४२ र सुदूरपश्चिममा ५४ वटा अस्पताल निर्माण हुन लागेको मन्त्रालयले जनाएको छ। यसपटक ५ शयाका ५२, १० शड्ढयाका १ सय ९, १५ शैड्ढयाका २ सय ३५ वटा अस्पताल निर्माण गरिनेछ।
३ सय ९६ वटा अस्पताल निर्माण पूरा हुँदा देशभर थप ४ हजार ८ सय ७५ शड्ढया थपिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल स्थानीय तहमा आधारभूत स्वास्थ्य संरचना निर्माणको कार्यारम्भ हुँदा स्वास्थ्यमा समान पहुँच पुग्ने बताउँछन्। ‘जिल्लामा पाइने स्वास्थ्य सेवा पालिका तहमा पुगेको छ। यसले सेवामा समान पहुँच स्थापित गर्छ’, डा। प्याकुरेल भन्छन्, ‘स्थानीय तहमा स्वास्थ्य सेवाका लागि निजी क्षेत्रको भर गर्नुपर्ने बाध्यता हट्छ।’ ७ सय ५३ पालिकामा अस्पताल स्थापना गरी सेवा पु¥याउने योजना बनाइनु महत्त्वपूर्ण पक्ष भएको मन्त्रालयका प्रवक्ता गौतमको भनाइ छ।
अर्थमन्त्री विष्णु पौडेलले आधारभूत अस्पताल निर्माण गर्न ५७ अर्ब ९७ करोड रुपैयाँबराबरको स्रोत सुनिश्चित गरिएको बताएका छन्। ललितपुरको गोदावरी नगरपालिका बज्रवाराही चापागाउँ अस्पताल भवन शिलान्यास कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताए। मन्त्रालयले अस्पताल निर्माण गर्न ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)