काठमाडौं, चैत २९ ।
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ।
मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ पूरा भएको हो। ती मतपत्र आवश्यक सुरक्षा प्रबन्धसहित बुधबारदेखि सम्बन्धित निर्वाचन क्षेत्रका लागि ढुवानी गरिने आयोगले जनाएको छ।
बारा क्षेत्र नम्बर २ मा एक लाख १६ हजार, चितवन क्षेत्र नं २ मा एक लाख ३८ हजार र तनहुँ क्षेत्र नम्बर १ का लागि एक लाख ३६ हजार मतपत्र छपाइ गरिएको छ। ती क्षेत्रमा मनोनयपत्र दर्ता गर्ने उम्मेदवारका आधारमा निर्वाचन चिह्नसमेत समावेश गरी मतपत्र छपाइ भएको हो।
वैशाख १० गते आइतबार हुने उपनिर्वाचनका लागि कूल ६७ जना उम्मेवारले उम्मेदवारी दिएका छन्। आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार बारा क्षेत्र नं २ मा ३४, तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं २ मा २४ जना उम्मेदवार छन्।
आयोगको अद्यावधिक विवरणअनुसार बारा–२ मा एक लाख पाँच हजार दुई सय ४८, चितवन–२ मा एक लाख २४ हजार छ सय ९५ र तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाता कायम भएका छन्। रासस
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)