बुटवल,चैत्र २५ ।
वेष्ट्रन क्रिकेट क्लबले खेलाडी-प्रशिक्षक सम्मान तथा वनभोज कार्यक्रम गरेको छ । तिलाेत्तमास्थित शंकरनगर वन बाटिका तथा अनुसन्धान केन्द्रमा आज आयोजना गरिएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले क्रिकेट विकासमा रुपन्देही उर्वरभूमी भएको भन्दै राष्ट्रिय योगदान दिन सफल भएको बताए ।
क्रिकेटमा आवद्ध भएका खेलाडी, नेतृत्वमा रहेकालाई राम्रो ज्ञान भएको भन्दै स्थानीय सरकार खेल विकासमा बजेट बिनियोजन गर्दै आएको बताए । क्रिकेटबाट पहिचान बनाउन सफल भएको नेपालको गरिमा अझ अघि बढाउन सबै क्षेत्रबाट लाग्नुपर्ने उनले बताए ।
खेल विकासको विषयमा जनप्रतिनिधिहरुलाई बुझाउन जरुरी रहने भन्दै निरन्तर झक्झकाउन सकेमात्र बजेट छुट्टिने उनले बताए । बुटवलमा पूर्वाधार विकासमा निरन्तर छुट्टिएको बजेटलाई सदुपयोग गर्न सुझाव दिए । देशकै विकास बजेटमध्ये केवल ३२ प्रतिशत खर्च भएको भन्दै उनले प्रक्रिया मिलाउन नजान्दा बजेट खर्च नसकिएको उनले बताए ।
कार्यक्रममा नेपाल क्रिकेट संघका (क्यान) का केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ल, रुपन्देही क्रिकेट संघ (क्यान) का अध्यक्ष हरि थापा, सचिव संजय गुरुङ, उपाध्यक्ष धिरज अधिकारी, कोषाध्यक्ष निरजप्रताप खाँण, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष सोहन श्रेष्ठ, पुर्व क्रिकेट खेलाडी जलेश प्रधान, बिएमडब्लु एजुकेसन कन्सल्टेन्सीका विकास आचार्य, महासचिव सम्राट न्यौपानेले बुटवलबाट राष्ट्रिय टिममा योगदान दिने प्रशिक्षक, खेलाडीहरुलाई सम्मान गरेका छन् ।
रुपन्देहीबाट प्रतिनिधित्व गर्ने नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक वसन्त शाही, यु १९ विश्वकपमा छनौट भएका टिम क्याप्टेन देव खनाल, अनिल खरेल, अभिषेक गौतम, नेपाली राष्ट्रिय महिला टिमका बिवासना बिसिलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्रबाट सम्मान गरिएको हो ।
यसैगरी कार्यक्रममा भ्वाईस अफ नेपालमा उत्कृष्ट छनौट भएकी सौम्या पाण्डेलाई मायाको चिनो प्रदान गरिएको थियो । 
सोहि अवसरमा खेलक्षेत्रको विकास र प्रचारप्रसारमा उल्लेखनीय योगदान गरेको भन्दै पत्रकार कपिल ज्ञवाली र स्वस्तिक श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल क्रिकेट संघका (क्यान) का केन्द्रीय सदस्य प्रशान्तबिक्रम मल्लले खेलाडीहरुलाई सम्मानबाट थप प्रोत्साहन मिल्ने बताए । देशमा भएका ४५ शाखामध्ये रुपन्देही जिल्लालाई उत्कृष्ट शाखा बनाउन यहाँ क्लबहरुको योगदान रहेको उनले बताए । पुर्वाधार विकास र खेलाडी उत्पादनमा रुपन्देहीका क्लबहरु निरन्तर लागेको उनको दाबी छ ।
रुपन्देही क्रिकेट संघ (क्यान) का अध्यक्ष हरि थापाले क्लबहरुबाट गरिने योगदानबाट नै संघ बलियो बन्न सक्ने बताए । निजी क्षेत्रको लगानीबाट क्रिकेट खेलको विकास गर्न सफल भएको उनले बताए । जिल्लाबाट आयोजना गरिने विभिन्न प्रतियोगितासंगै एकदिवसीय ५० ओभरको खेलमा समेत च्याम्पियन बन्न सफल भएको उनले बताए ।
एकेडेमीका अध्यक्ष भुवन पाण्डेले वर्षभरि गरिएका उपलब्धीहरुबारे प्रकाश पार्दै जुनियरदेखि राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सफल भएको दाबी गरे । ९ वर्ष अघि स्थापना भएको एकेडेमी ग्रासरुट खेलमा विशेष जोड दिएको उनले बताए ।
जिल्ला सुपर लिग प्रतियोगिता दुई पटक जित्न सफल भएका साथै धेरै प्रतियोगितामा समेत एकेडेमीका खेलाडीहरु उत्कृष्ट भएका छन् । उनले आधा दर्जन बढी खेलाडीहरु राष्ट्रियस्तरको प्रतियोगिता खेल्न सफल भएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)