बुटवल,चैत २१ ।
पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । उनले जनताले सरकारको माध्यमबाट शिक्षा क्षेत्रमा दिइरहेको लगानीको पनि सदुपयोग गर्न जरुरी रहेको बताए । श्री पक्लिहवा माध्यमिक विद्यालय पक्लिहवा सिद्धार्थनगर–१, रुपन्देहीको ६४ औं स्थापना दिवस तथा अभिभावक भेला–२०७९ को सोमबार उद्घाटन गर्दै पूर्वमन्त्री खाणले अहिले शिक्षा क्षेत्रमा भइरहेको लगानीको अधिकतम प्रतिफल ल्याउनुपर्नेमा जोड दिए । उनले अपुग रकम सरकारले व्यवस्थापन गर्नुपर्ने बताए ।
आफ्नो तर्फबाट तीनै तहको सरकारलाई बजेट व्यवस्थापन गर्न आग्रह गर्ने विश्वास दिलाउन चाहन्छु, उनले भने,‘प्रधानमन्त्री र मन्त्री मात्रै सरकार नभइ प्रधानमन्त्रीदेखि मन्त्री, सचिव, प्रशासनका प्रमुख, सामाजिक, शैक्षिक क्षेत्र लगायत जहाँ हामी कार्यरत छौं, हामी सरकारको एउटा अभिन्न अंग हौं । ’
उनले प्रदेश सरकारबाट विद्यालयलाई उपलब्ध बस विद्यार्थीलाई विद्यालयसम्म लैजान र घरसम्म पुर्याउन सहयोग गर्ने बताए । उनले आवश्यक परे शिक्षक तथा कर्मचारीको लागि थप बसका लागि पहल गर्ने आश्वासन दिए ।उनले पक्लिहवा माविले धेरै राम्रो नतिजा ल्याउन सफल भएको बताए । उनले परम्परागत शिक्षामा भन्दा डिजिटल तथा प्राविधिक खालको रोजगारीउन्मुख शिक्षा प्रणालीमा जोड दिनुपर्ने बताए ।
विद्यालयका सूचना तथा क्रियाकलाप अभिभावकलाई जानकारी दिन प्रविधियुक्त हुन जरुरी रहेको बताए । उनले विद्यार्थीको जीवन सुरक्षित बनाउन तथा मुलुक र जनताको लागि उपलब्धीमूलक बनाउनुपर्ने बताए ।
उनले भने, ‘विद्यार्थी कुनै पनि क्षेत्रमा अब्बल रहनेछन् र नेपालको भविष्यलाई अझै उज्जवल बनाउनेछन् । ’सरकारको अभिन्न अंगको रुपमा सबैले आफ्नो दायित्व निर्वाह गर्नैपर्ने उनले बताए । उनले भने, ‘हाम्रा थुप्रै कमीकमजोरी छन् । ती कमीकमजोरीलाई आत्मसात गर्नेपर्छ र सुधार्नैपर्छ । परिवर्तन अपरिहार्य छ । आवश्यक छ । सबैले आफूलाई परिवर्तित गर्न तयार पनि हुनुपर्छ । ’
अहिले आफू प्रतिनिधिसभा र मन्त्रीपरिषदमा नभए पनिसीमित व्यक्ति र मन्त्रीपरिषद मात्रै सरकार नभएको उनको भनाइ छ । सबैले आफ्नो भूमिकालाई गतिशिल बनाउन जरुरी रहेको नेता खाणले बताए । एकआपसमा सहयोगको भावना राख्न जरुरी रहेको उनको भनाइ छ । उनले भने, ‘सबै मिलेर अघि बढ्ने हो । देश बनाउने जिम्मा हामी सबैको हो । यो जिम्मा हाम्रो जीवनकालमा गर्नेछौं । त्यही प्रतिवद्धताका साथ अघि बढ्नु छ । ’
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्थानीय निर्वाचन र आम निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको खाणले बताइ । उनले निर्वाचनमा खट्ने सुरक्षाकर्मी, निर्वाचन आयोग, मतदाता सबैलाई धन्यवाद दिदै निर्वाचनको परिणामलाई आत्मसात गर्दै त्यसको आधारशिलामा सरकार बनाइएको बताए । उनले भने, ‘नेपाली कांग्रेस प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हो । ठूलो दलको नेतृत्वमा सरकारमा सबै दललाई ल्याउने प्रयत्न थियो, तथापी त्यो प्रत्यन सफल हुन सकेन । हामी प्रतिपक्षमा हुँदाहुँदै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियौं । विगतमा नेकपा (माओवादी केन्द्र) गठबन्धनकै साझेदार दल थियो । ’
नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन कांग्रेस र माओवादी केन्द्रबीच सहमति र सहकार्य हुन आवश्यक रहेको उनको भनाइ छ । सरकार बनाउने क्रममा कांग्रेसको प्रारम्भिक सहयोग नभएपनि पछि प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि अर्को दल सरकारबाट बाहिरिएको र कांंग्रेस सरकारमा जाने अवस्थाको सिर्जना भएको खाणले बताए ।
संघीय सरकारमा कांग्रेसको उपस्थिति र सहभागीता रहेकाले आम नेपाली जनताको समस्या सम्बोधन गर्ने क्रममा मुलुकको विकास निर्माणका र शान्ति सुरक्षाका हाम्रो जिम्मेवारीमा छ, उनले भने, पछिल्लो समय मुलुकको अर्थतन्त्र ज्यादै नै चुनौतीपूर्ण रहेको छ । उद्योगी व्यवसायीले आफ्नो उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको र बैंकको ब्याज किस्ता तिर्न पनि नसक्नुभएको उनको भनाइ छ । उद्योग व्यवसाय र वित्तीय संस्थालाई जोगाउन र टिकाउन वर्तमान सरकारले नेतृत्व लिनुपर्ने र सबैलाई मिलाएर लैजानुपर्ने अवस्था रहेको उनले बताए । वर्तमान सरकारले वित्तीय संकटलाई सम्बोधन गर्न सक्छ भन्ने विश्वास रहेको खाणले बताए । कांग्रेस एउटा उदारवादी लोकतान्त्रिक पार्टी भएको उनको भनाइ छ ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले राज्यले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको बताइन् । उनले अभिभावकले आफ्ना बालबालिकाको निगरानी गर्नुपर्नेमा जोड दिइन । नगर उपप्रमुख अधिकारीले अभिभावकले विद्यार्थीहरुको चाहना नबुझी अनावश्यक दबाब दिन नहुने बताइन् ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले विद्यार्थीहरुप्रति अभिभावकले चासो दिनुपर्नेमा जोड दिए । उनले भने, ‘अभिभावकमा चेतना आवश्यक छ ।’
श्री पक्लिहवा माध्यमिक विद्यालयका पूर्वविद्यार्थी तथा बाल बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक भीम बहादुर थापाले पक्लिहवा माविले काचुली फेरेको बताए । उनले आफू यहाँसम्म पुग्नुमा विद्यालय र शिक्षकशिक्षिकाका ठूलो योगदान रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङको अध्यक्षता, पूर्व गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यता तथा शिक्षिका शान्ति थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत छात्रा–छात्राहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालयले लुम्बिनी प्रदेश सरकारको सहयोगमा प्राप्त स्कुल बसको उद्घाटन तथा वर्ष २०८० को लागि प्रकाशन गरिएको भित्तेपात्रोको पनि विमोचन गरिएको शिक्षक भरत गिरीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)