बुटवल,मंसिर १४ -
नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी भएका छन् ।ढकालले प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गरे ।
विजयी भएका ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५२२ मत ल्याए भने प्रधानले ३७५ मत ल्याए । यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत ल्याए भने प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ५२ मत ढकाल र ५३ मत प्रधानले प्राप्त गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि ढकालले महासंघमा अब प्यानल सकिएको बताएका छन् ।
निर्वाचित भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै ढकालले अब महासङ्घलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने प्रतिबद्धता जनाए ।
उनले भने, अब चुनावसँगै प्यानल पनि सकियो । हामीलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।
जिल्ला नगरको उपाध्यक्षमा प्रधान समुहका दिनेश श्रेष्ठ निर्वाचित :

उद्योग वाणिज्य महासंघको जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका हुन् ।
दिनेश श्रेष्ठले ५८ मत ल्याएर चन्द्र ढकाल समुहका गुणनिधी तिवारीलाई पराजित गरे ।
पराजित भएका तिवारीले ४७ मत ल्याए । महासंघको बागमती प्रदेशको अध्यक्ष रहेका श्रेष्ठले वस्तुगत उपाध्यक्षको रुपमा काम गरिसकेका छन् । तिवारी भने लुम्बिनी प्रदेशका अध्यक्ष हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)