बुटवल,चैत्र १० ।
बुटवलमा माेटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका १० हाेराइजन चोकमा भैरहवातर्फ जाँदै गरेको लु ७२ प ७३९२ नम्बरको मोटरसाइकल सोही दिशाको लु १ क ५३२ नम्बरको बसमा ठोक्किएर अनियन्त्रित भएको थियो । उक्त बस तिलोत्तमा कलेजको हो ।
अनियन्त्रीत भएको सो मोटरसाइकले भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका दुइवटा मोटरसाइकलसँग पनि जुधेको थियो । लु १७ प ३७६२ नम्बर र लु ६ प ६०२ नम्बरको मोटरसाइकलसँग पनि ठोक्किएको हाे ।
दुर्घटनामा परी लु ७२ प ७३९२ नम्बरको मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका ४ का २० वर्षीय आविश्कार टण्डनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता माेहनबहादुर खाँणले जानकारी दिए ।
यस्तै लु १७ प ३७६२ नम्बरका मोटरसाइकलका चालक तिलोत्तमा ७ का ३५ वर्षीय हुमबहादुर थापा र सोही मोटरसाइकलको पछाडी सवार सोही ठाउँकै ७० वर्षीया एश्र्वरादेवी थापा घाईते भएका छन् । घाइते दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनीहरुको अवस्था नर्मल छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)