बुटवल,चैत ७ ।
लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सिनियर खेलाडीलाई एक लाख र जुनियर खेलाडीलाई ५० हजार नगद प्रदान गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री कार्यालय दाङमा सोमबार बसेको मन्त्रिपरिषदको वैठकले ६ जना सिनियर खेलाडीलाई एक लाखका दरले र ५ जना जुनियर खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।
विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक सिरिजमा नेपाली सिनियर टोली विजेता बन्दै विश्वकपको क्वालियरमा छनोट भएकाले प्रदेशका खेलाडीको हौसला र सम्मानका लागि मन्त्रिपरिषद वैठकले सर्वसम्मत एक लाखका दरले रकम दिने निर्णय भएको हो’ जुनियर टिमका ५ जनालाई पनि ५० हजारका दरले रकम दिने निर्णय भएको हाे ।
सिनियर क्रिकेट टिममा कप्तान रोहित पौडेल नवलपरासी, कुशल मल्ल,कुशल भुर्तेल र मौसम ढकाल रुपन्देही,सोमपाल कामी गुल्मी र प्रतिश जीसी प्युठानका हुन् ।
यस्तै जुनियर टिममा रुपन्देहीका देव खनाल, कपिलवस्तुका आकाश त्रिपाठी र दुर्गेश गुप्ता,बर्दियाका विकास केसी र अर्घाखांचीका उत्तम थापा रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)