बुटवल ,मंसिर ११ -
बुटवल उपमहानगरपालिकाले डिजिटल सिटिको बाटोमा महत्वपूर्ण कदम चालेको छ । राजश्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न उपमहानगरपालिकाले अनलाइनबाटै राजश्व तिर्न मिल्ने गराएको छ ।
उपमहानगरपालिका र यसअन्तर्गतका १९ वटै वडामार्फत् अनलाईन प्रणालीबाट राजश्व संकलन सुरु गरिएको हो ।
यो सेवासंगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ ।करदाताले नगरपालिकाले संकलन गर्दै आएको एकिकृत सम्पति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाई सेवा शुल्क, अचल सम्पति मुल्यांकन शुल्क, नक्सा पास दस्तुर, ठेक्का पट्टा नविकरणलगायतका राजश्वलाई जुनसुकै ठाउँबाट पनि अनलाईनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको छ ।
डिजिटल प्रविधिको यो नौलो व्यवस्थाको बिहीबार एक समारोहका बीच नेपाल सरकारका अर्थमन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णुप्रसाद पौडेलले शुभारम्भ गर्नुभयो ।नयाँ प्रविधिको शुभारम्भ गराउँदै अर्थमन्त्री पौडेलले डिजिटल सिटिको अभियानमा बुटवलले महत्वपूर्ण कदम चालेको बताउनुभयो ।
उपनगरपालिकाको काम समय अनुकुल र सुचना प्रविधिसंग जोड्दैँ नगरबासीको सहजताका लागी अनलाईन प्रणाली मार्फत राजश्व संकलन सुरु गरिएको उपमहानगरपालिकाका प्रमुख सुवेदीले बताउनुभयो । उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जिआइएसका आधारमा घर नम्बरिङ पनि गरिसकेको छ । ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरमा नम्बर प्लेट टाँस्ने काम गरेको थियो ।
शिर्षकगत करदाता करिब ८६ हजार :
बुटवलमा सम्पत्ती कर, भूमि कर, व्यवसाय कर र बहाल कर तिर्ने सबैप्रकारका शिर्षकगत करदाताको संख्या करिब ८६ हजार रहेको छ । यी सबै प्रकारका राजश्व बुझाउनुपर्ने सेवाग्राहीहरु अनलाइन प्रणालीको प्रत्यक्ष लाभकर्ता हुनेछन् ।
यसखालको ई–पेमेन्ट व्यवस्था पालिकाहरुमै पहिलो रहेको उपमहानगरले दाबी गरेको छ । सम्पत्ती कर र भूमिकर बुझाउने करदाताको संख्या ५९ हजार पाँच सय ९३, व्यवसाय कर बुझाउनेको संख्या १८ हजार एक सय २६ र बहाल कर बुझाउनेको संख्या सात हजार नौ सय ५६ गरि करिब ८६ हजार शिर्षकगत करदाता रहेका छन् ।
राष्ट्रिय परिचय पत्रको सिस्टममा इन्टरकनेक्ट :
बुटवलले सुरु गरेको अनलाइन प्रणालीले राष्ट्रिय परिचय पत्र निर्माणका लागि समेत उपयोगी हुने छ । बुटवलको अनलाइन प्रणाली प्रधानमन्त्री कार्यालयबाट वितरण हुने राष्ट्रिय परिचय पत्र नेशनल आइडीमा इन्टर कनेक्ट भएको छ ।
कार्यालयमै आएर लाइन लागेर कर तिर्नुपर्दासमेत तीन गुणाले बढेको राजश्व अव अनलाईन प्रणालीबाट झनै बढ्ने बुटवल उपमहानगरपालिकाकी उपप्रमुुख गोमादेवी आचार्यले बताउनुभयो ।
बुटवल उपमहानगरपालिमा स्थानीय तहमा जनप्रतिनिधि आएपछि राजश्व संकलनमा बृद्धि हुदै गएको तथ्याङ्क छ । राजश्व तिर्ने अनलाई प्रणालीको सुरुवातसँगै यस्ता कर दाताको संख्या अझैं बढ्ने विश्वास गरिएको छ ।
२०७४ साल असार महिनासम्म बुटवलमा संचालित व्यवसाय मध्ये सात हजार सात सयमात्रै दर्ता थिए । करिब साढे तीन करोड राजश्व थियो ।
त्यसको साढे दुई वर्षमा करिब ११ हजार नयाँ व्यवसाय दर्ता भएका छन् । यसले राजश्वमा करिव तीन गुणा बृद्धि भएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाले स्थानिय सरकार सञ्चालन ऐनले निदृष्ट गरेका कर उठाउन मिल्ने सबै जसो क्षेत्रहरुलाई ऐन तथा कार्यविधिमार्फत् राजश्वको दायारामा ल्याइएको, कोभिडको समयमा करमा छुट दिइएको उपमहानगरका वित्त व्यवस्थापन महाशाखाका प्रमुख वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले बताउनुभयो ।
बुटवलले चालु आवमा दुई अर्ब एक करोड ६४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।
आव २०७७ को आन्तरिक स्रोत परिचालन लक्ष्य ४७ करोड एक लाख रहेको छ । चालु आवको मंसिर ११ गते विहान ११ बजेसम्ममै बुटवल उपमहानगरले १६ करोड भन्दा धेरै असुली भइसकेको वित्त व्यवस्थापन महाशाखाका प्रमुख खनालले बताउनुभयो ।
उपमहानगरपालिकाको आन्तरिक आयमा एकिकृत सम्पत्ती कर, अन्य सेवा शुल्क तथा विक्री, सिफारिश दस्तुर, व्यवसाय रजिष्ट्रेशन दस्तुरलगायतका शिर्षकहरुबाट उठेको राजश्वको हिस्सा अत्याधिक छ । नयाँ व्यवसायलाई प्रवद्र्धन गर्दै दर्ता हुने व्यवसायको संख्या बढिरहेको बेलामा अर्कातर्फ राजश्व उठाउन मिल्ने नयाँ क्षेत्रहरुको खोजी गरि राजश्व उठाईएका कारण आन्तरिक आय बढेको उपमहानगरको तथ्याङ्कले नै देखाएको छ ।
उपमहानगरपालिकाले उठाउने राजश्वका शिर्षकहरुमध्ये एकिकृत सम्पत्ती कर, मनोरञ्जन कर, विज्ञापन कर, पार्किङ शुल्कलगायतका शिर्षकहरु नयाँ राजश्वका क्षेत्रहरु हुन् । कर नभई करको दायारा बढाउने नीतिलाई समेत अनलाइन प्रणालीले महत्वपूर्ण रुपमा सहयोग गर्ने राजश्व शाखाका अधिकृत दामोदर ज्ञवालीले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)