-प्रजापाल गिरी
निजि क्षेत्रबाट अरबौ रुपैया लगानी गरेर एक ठाउँका यात्रुलाई अर्को ठाउँसम्म पुर्याउने यातायात व्यवसाय को सुरक्षा र प्रबर्द्धनमा सरकार गम्भीर हुनुपर्छ भन्नेमा नागरिकस्तरबाट एेक्यवद्धता र समर्थन रहेको छ।
यसै गरि यातायात सेवा व्यवसायको क्षेत्रमा देखिएका केहि मानविय व्यवहारमा उचित सुधार हुनसके सडक यातायात मानिसको अन्तिम रोजाइ नभएर पहिलो रोजाई बन्नसक्ने आममानिसमा सकारात्मक धारणा भेटिन्छ ।
निर्वाचनको बेला बुटवलको लुम्बिनी बस टर्मिनललाई स्मार्ट बसपार्कको रुपमा बिकास गर्ने प्रतिबद्धता सबै उम्मेदवारको साझा प्रतिबद्धता बन्छ । बस,ट्रक,जीप व्यवसायी समितिका निर्वाचनमा पेशाको सुरक्षा र मर्यादाको मुद्धा प्रमुख हुने गरेकै छ । ट्रेड तथा मजदुर युनियनले पनि श्रमिकका अधिकारका कुरा आफ्ना अधिवेशन र श्रमिक दिवसका दिनमा चर्कै उठाउने गरेका छन् । हरेक शहरको परिचय दिने एेना भएर होला बसपार्क सबैको चिन्ता र चासोको क्षेत्र बनेकै छ । स्मार्ट बसपार्क आजको आवस्यकता हो यसका थुप्रै थुप्रै मापदण्ड हुन्छन्,समय लाग्छ ।
मल्टिपर्पोज सुपर मार्केट लगायत अन्य सबैखाले पुर्वाधार समय क्रममा पूरा होलान् । फ्री वाईफाई जोनको प्रतिबद्धता मेयर खेलराज पाण्डेयले पूरा गरिसकेका छन् ।
स्मार्ट बसपार्क निर्माणकोप्रक्रिया यसरी सुरु गरे उचित गन्तव्य पक्डन्थ्यो कि १ यातायात क्षेत्रमा प्राबिधिक र अप्राबिधिक दुई किसिमका कर्मचारी हुन्छन् । दुबैका आआफ्नै बिशेष जिम्मेवारी छन् । चालक महत्वपूर्ण र प्राबिधिक पक्ष भएकोले चालकका लागि आफ्नै कानुनी ब्याख्या र व्यवस्था छ। सीप, दक्षता र कानुनी इजाजतप्राप्त व्यक्तिमात्र सम्बन्धित सवारीको चालक बन्नसक्छ ।
हाम्रो देशमा सहचालक अप्राबिधिक बिषय बनेकाले यसका लागि सीप, क्षमता, योग्यता र दक्षताको बिषय गौण हुनेगर्छ । तर यो क्षेत्रमा यी व्यक्तिहरू यात्रुसङ्ग प्रत्यक्ष सरोकार राख्ने पक्ष हुन । टिकट चेकजाँच, यात्रुका समस्या र गुनासा सबै यिनिहरु सितै ठोकिन्छ । यात्रा अवधिभर यात्रु र यिनिहरु बिच सम्बन्ध जति स्नेहपुर्ण हुन्छ यात्रा त्यति नै मिठास हुन्छ । यात्रालाई सुरक्षीत, मनोरञ्जनयुक्त र पारिवारिक बनाउन ध्यान दिने हो भने सडक यातायात मानिसको पहिलो रोजाइ बन्नेछ ।
तर यसका लागि केही पहलकदमी र इच्छाशक्ति भने अवस्य चाहिन्छ ।
जनताको जिउधनको सुरक्षाको लागि गठन भएको नेपाल प्रहरी पनि यदि निर्धारित पोषाक र परिचयपत्र बिना समाजमा हिड्ने हो भने त्यसले समाजलाई सुरक्षीत महसुस गराउछ कि आतंकितरु यहीँबाट सुरु गरौं। त्यस्तै कुनै ठोस परिचय बिना यात्रुको व्यवस्थापनका लागि देखिने यातायात र बसपार्कका कर्मचारी यात्रुमैत्री भएपनी आफ्नै कारण भन्दा अनाधिकृत व्यक्तिका कारण बदनाम भएका छन् भने यात्रुले आफुलाई असुविधा महसुस गरेका छन् ।
सबै कर्मचारी र श्रमिकका लागि निश्चित ड्रेस, परिचय पत्र र सामन्य प्रशिक्षण आदिको अनिवार्य व्यवस्था गर्ने हो भने यात्रु र कर्मचारीबिच अबिश्वासबाट सृजना हुने तानातान, भनाभन रोकिनेछ । पेशाको मर्यादा बढ्नुका साथै यातायात क्षेत्रमा पढेलेखेका स्मार्ट पर्सनालिटी भएका व्यक्ती श्रमिक बनेर आउने क्रम बढ्नेछ ।
व्यवसायमा नवीन शैली समयको माग हो । बजारका पसलहरुमा सेल्स ब्वायरगर्लको रुपमा काम गर्ने मान्छे भेट्टाउन मुस्किल हुन्छ तर ठुलाठुला सुपर मार्केट र मलहरुमा राम्रो ड्रेस, परिचयपत्र र मर्यादित बाताबरण भएकाले त्यहाँ काम पाउन युवायुवती लाइन लाग्ने गर्छन् । त्यसैले निश्चित पोषाक र परिचय पत्र सामान्य लागेपनी यसले सम्बन्धित व्यक्तिलाई जिम्मेवार र जवाफदेही बनाउने तथा पेशाप्रती आकर्षित गर्ने एउटा दरिलो साधन भएकाले यसको अनिवार्य प्रयोगले यातायात क्षेत्रलाई मर्यादित र आकर्षक अवस्य बनाउने छ ।
हाम्रो शहरमा सार्वजनिक यातायातका रुपमा रहेका बस, ट्रक,जीप, ट्याक्सी र रिक्साका चालक तथा कर्मचारीलाई पहिचान हुने गरि पोषाक र परिचयपत्र अनिवार्य गर्ने हो भने सो पेशाको मर्यादा पनि बढ्नेछ भने शहरको सौन्दर्यता पनि बढ्नेछ । यसको कार्यान्वयनमा पनि धेरै जटिलता छैन । स्थानीय सरकारको पहलमा बस, ट्रक,जीप,ट्याक्सी,रिक्सा लगायत व्यवसायी समिति,यातायात मजदुर भलाई कोष, ट्रेड मजदुर युनियन लगायत प्रत्यक्ष सरोकार राख्ने पक्षसङ्ग छलफल गर्ने हो भने यो असम्भव पनि छैन। यातायातको राजधानी शहर भएको नाताले बुटवलबाट यसको सुरुवात गरिनु पर्छ। स्मार्ट बसपार्क,स्मार्ट यातायातकालागि यो मुख्य प्रस्थान बिन्दु बन्नेछ ।
संसारका धेरै देशमा यसको अभ्यास भएकै छ र अर्थपूर्ण परिणाम पनि ल्याएकै छ । सेवाप्रदायक र सेवाग्राही बिच सेवा लिन र दिन सहज र सुबिधाजन्य वातावरणका लागि पोशाक र परिचयपत्र सरकारी,निजामती कर्मचारी,स्वास्थ्यकर्मी, निजि कम्पनी, हवाई यातायात, रेल यातायात, उद्योग, कलकारखाना, विद्यालय, विश्व विद्यालय शिक्षक, विद्यार्थी, आदिमा प्रचलनमै रहेको छ ।
सार्वजनिक यातायात क्षेत्रलाई सेवामुखी र मर्यादित बनाउन यो एउटा सानो प्रयास कोषेढुङ्गा साबित हुनेछ । यसको नेतृत्व बुटवलले लिनुपर्छ । नमस्कारबाट सुरु हुने हवाई यात्रा धन्यवादमा पुगेर टुङ्गिए झै सडक यात्रा पनि बिश्वासबाट सुरु भएर पारिवारिक बाताबरणमा टुङ्गिने बनाउनुपर्छ । यहीँबाट स्मार्ट यातायात र स्मार्ट बसपार्क निर्माणको यात्रा तय हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)