बुटवल,चैत्र २ ।
बेरोजगार युवा युवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘रोजगार सूचना मेला’ हुने भएको छ ।
औद्योगिक तथा व्यवसायिक क्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ती गर्ने उद्देश्यले नगरपालिकाले चैत ४ गते १ दिने रोजगार सूचना मेला आयोजना गर्न लागेको हो ।
युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका कारण जनशक्ति अभावको समस्या रहेको र वेरोजगार युवा युवतीहरुलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रोजगार सृजना गर्ने मेलाको उद्धेश्य रहेको तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले बताउनुभयो ।
आज मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले तिलोत्तमा नगर क्षेत्रका वेरोजगार युवा युवतीलाई स्वदेशमैे रोजगारी दिने नीति अनुरुप रोजगार मेला हुने वताउनुभयो ।
रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेशिन बाध्य नागरिकलाई स्वदेशमै राख्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको संयोजक पाठकको भनाइ छ ।
सो मेला भलवारीस्थित रामजानकी मन्दिरको मैदानमा हुनेछ । रोजगार मेलामा विभिन्न रोजगार दाताका ४० बढि स्टल रहने र मेलामै विभिन्न सिप भएका ब्यक्तिहरुलाई रोजगार दिलाईने तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । मेलामा रहने स्टल नगरपालिकाले निर्माण गर्ने र मेलाका लागि कुनै शुल्क नलाग्ने बताइएको छ ।
नगरपालिकाले तिलोत्तमा नगर क्षेत्रमा रहेका रोजगार दाता तथा ब्यवसायिक संघ संस्थाहरुसंग सहकार्य गरेर यो मेला आयोजना गर्न लागेको हो । स्टलहरुमा सहभागिहरुले मेलामा पुगेका दर्शकलाइ उनीहरुको रुची,क्षमता र चाहाना अनुसारका रोजगारीको ग्यारेन्टी समेत गरिने छ भने उनीहरुलाइ करियर काउन्सिलिङ समेत गरिने छ ।
मेलामा सीपमूलक तालिमको अवसरहरुको जानकारी, वृत्ति परामर्शसम्बन्धी सेवा, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरका बारेमा जानकारी गराउनुका साथै रोजगारीका लागि सहजीकरण गर्ने मेलाका उपसंयोजक रवि सेन्चुुरीले वताउनुभयो ।
रोजगार मेलाले रोजगारीको खोजीमा रहेका युवा युवती र रोजगारदातालाई जोड्न पुलको काम गर्ने अपेक्षा गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)