बुटवल,फागुन २६ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने जनाएको छ । साथै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको रिटमा सुनुवाइ गर्दै अहिले माग बमोजिम अन्तरिक आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको माग बमोजिम अन्तिरिम आदेश जारी गर्न नपर्ने जनाएको हो ।
न्यायाधीश खतिवडाले मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र यसबारेमा लिखित जवाफ पेश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा आदेश जारी गर्नुभएको छ । सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘सङ्क्रमणमालीन न्याय प्रक्रिया लामो समयसम्म टुङ्गो नलागेको भन्ने विषयको उठान गरी न्याय र परिपूर्ण सम्बन्धी कानुनी उपचारका सन्दर्भमा प्रस्तुत रिट निवेदन पर्न आएको कुरा निवेदन व्यहोराबाट देखियो ।
तसर्थ, यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारण सहित बाटोको म्याद बाहेक १५ दिनभित्र पत्यर्थी नं. १ ले आफै वा कानुन बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रत्यर्थीहरुले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपि एक–एक प्रतिसहित म्याद सूचना जारी गरी रीतपूर्वक तामेल गराई म्यादभित्र लिखित जवाफ परेपछि वा पर्ने अवधि नाघेपछि नियमानुसार पेश गर्नू ।’’
आजको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ताहरु डा. सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्यक्ष, अन्नतराज लुइँटेल र ध्रवलाल श्रेष्ठले बहस गर्नुभएको थियो ।
गत मङ्गलबार प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जीविवास गिरीले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)