काठमाडौं, फागुन २५ ।
राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरसिस्थत संसद् भवनमा मतदान सकिएसँगै मतगणना सुरु भएको हो। राष्ट्रपतिको दौडमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी दौडमा रहेका छन्।
बिहीबार बिहान १० देखि दिउँसो तीन बजेसम्म भएको राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको थियो। मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए।
यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन्। यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ । यस्तै प्रदेशतर्फ ५५० मध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)