बुटवल,फागुन २४ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘नो हर्न ’घोषणाको तयारी गरिएको छ । समुदायमा आधारित हरियाली प्रबर्धन तथा नियमित सरसफाई अभियानको १०० औं दिन पूरा भएसँगै चैत्र १ गते मूल समारोह गरेरै तिलोत्तमालाई ‘नो हर्न नगर’ घोषणा गरिने भएको हो ।
चैत्र १ गतेदेखि नगरक्षेत्रको सिद्धार्थ राजमार्ग तथा भित्री सबै सडकमा हर्न बजाउन पाइने छैन । हर्न बजाए जरिवाना तोकिनेगरि तयारी अघि बढेको नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिनुभयो । तिलोत्तमा मुलुककै उत्कृष्ट नगरपालिका भएर पुरस्कृत समेत भैसकको छ । नगरले सप्ताहव्यापी कार्यक्रमसहित सरसफाइ अभियानको सयौं संस्करण मनाउँन लागेको जनाएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत फागुन २५ गते टेलिभिजन बहस कार्यक्रम, २६ गते विद्यालय स्तरीय वक्तृत्वकला तथा कला प्रदर्शनी प्रतियोगिता, २७ गते नगर स्तरीय सरसफाई र रक्तदान कार्यक्रम गरिने नगर प्रमुख खाँणले बताउनुभयो ।
फागुन २८ गते सामुदायिक-संस्थागत विद्यालय तथा कलेज परिसर र शौचालय सरसलाई, २९ गते आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सहकार्यमा लक्षित समुदायलाई १ हजार थान कम्पोष्टविन वितरण र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाई गरिने उप प्रमुख जगेश्वर देवी चौधरीले बताउनुभयो ।
अभियानको १०० औं श्रृङ्खलामा विभिन्न जातजाती तथा साँस्कृतिक झाँकी प्रदर्शन तथा अभियानमा सहभागी व्यक्तिहरुलाई सम्मान गरिने भएको छ । सोही दिननै नगरमा कुहिने र नकुहिने फोहोर अलग–अलग उठाउने कार्यक्रमको सुरुवात गरिने जनाइएको छ ।
तिलोत्तमाका १९९ टोल बिकास संस्था मार्फत हरियाली प्रवर्द्धन तथा सफाई अभियान सञ्चालन गरिएको कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।
नगरमा हाल ४० जना सरसफाईकर्मीद्वारा फोहर संकलनको काम भैरहेको तथा १७ वटै वडामा फोहरमैला संकलन तथा व्यवस्थापन हुँदै आएको छ ।
तिलोत्तमामा हाल दैनिक २८ टन कुहिने तथा नकुहिने फोहर उत्सर्जन हुँदै आएको प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले बताउनुभयो ।
बुधबार नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले सचेतना सम्बन्धि प्रचार प्रसारलाई थप वृहत र व्यवस्थित गराउन सुझाब दिनुभयो ।
तिलोत्तमा बालमैत्री ,पूर्ण सरसफाइ युक्त,खुल्ला पलास्टिक मुक्त तथा अन्तराष्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका समेत हो भने देशमै सबैभन्दा बढि बसाइसराइ गरेर मानिसहरु यहाँ आउने गरेको प्रमुख प्रशासकिय अधिकृत अर्यालको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)