बुटवल,फागुन २४ ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ११३ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा बुटवलमा प्रदर्शन गरेको छ । बुटवल ब्लड बैंक अगाडि महिला अधिकार, मानव अधिकार, व्यवहारमा समानता, अवसरमा समानता लेखिएको प्लेकार्डहरु समेत प्रदर्शन गरिएको थियो ।
सो अवसरमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार तथा निवर्तमान सभापती गोविन्द खनालले अझै पनि समाजमा महिलामाथि अन्याय र अत्याचार कायमै रहेकाले त्यसका विरुद्ध सचेतनाको जरुरी रहेको बताउनुभयो । उहाँले संवैधानिक रुपमा ३३ प्रतिशत अधिकार लेखिएको भएपनि मन्त्रिमण्डल, सरकारी नियुक्तिमा अझै कार्यान्वयन नभएकाले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । 
नारी दिवसमा गरिएको प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, तितेपाती वचत तथा ऋण सहकारीका अध्यक्ष कमला कुँवरले नेपाली समाजमा अझै पनि महिलामाथि विभेद रहेकाले समानताका लागि एकजुटहुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शान्ति समाज रुपन्देहीका सभापती खिमप्रसाद भट्टराई (कृष्ण), उपसभाति कपिल ज्ञवाली, सहसचिव सिता पौडेलले बोल्दै मानव अधिकार शान्ति समाज समानता र न्यायका लागि सदैव क्रियाशिल रहने बताउनुभयो ।

समाजले नारी दिवसकै अवसरमा रुपन्देहीको सैनामैनामा नि:शुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । रुपन्देहीको सैनामैनामा अति विपन्न महिलाहरुलाई निशुल्क स्वास्थ्य शिविर सञ्चानल गरिएको छ ।
शान्ति समाज जिल्ला शाखा रुपन्देही र साझा हस्पिटल प्रालीको संयुक्त आयोजनामा सैनामैना वडा न.६ का १५० जना अति विपन्न महिलाहरुलाई विशिष्टकृत स्वास्थ्य शिविर दिईएको हो ।उक्त शिविरमा महिलाहरुलाई निःशुल्क ल्याब परिक्षण,भिडियो एक्सेरे,निशुल्क औषधी वितरण गरिएको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले निशुल्क स्वास्थ्य शिविरले अति विपन्न महिलाहरुलाई उपचारमा धेरै राहत मिल्ने बताएका छन् । सुविधा सम्पन्न ठाउँमा भन्दा गरिब,दलित सिमान्तकृत बस्तीमा यि सेवा प्रवाह पुर्याउनुपर्नेमा जोड मेयर शर्माको थियो ।
यस्तै,कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले महिला अधिकार,मानव अधिकार भएको बताएका छन् ।महिलाहरुका लागी शसक्तिकरण तथा महिला हिंसा विरुद्ध अभियान चलाउने जस्ता काम गर्दै आएको बताएका हुन् ।महिलाहरुको स्वास्थ्य अधिकारलाई प्रत्याभुति दिने गरि यो कार्यक्रम गरिएको बताएका छन् ।
मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति कृष्ण भटटराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सैनामैना वडा न.६का वडाअध्यक्ष गोपाल पोख्रेल,नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनी,नेपाली कांग्रेस सैनामैनाका सभापति रण बहादुर खनाल,समाजसेवी किरण पौडेलको आतिथ्यतामा कार्यक्रम भएको हो ।
अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)