बुटवल,फागुन १६ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिक्षा क्षेत्रको विकास विना दीगो विकासको लक्ष्य हासिल गर्न नसकिने बताउनु भएको छ ।
नेपाल शिक्षक संघ बुटवल नगरसमितिको दोश्रो अधिवेशनको बुटवलमा उदघाटन गर्दै नगरप्रमुख पाण्डेले बुटवललाइ समुन्नत नगर बनाउने आधारशीला तयार गर्न शिक्षा क्षेत्रको विकासलाइ पहिलो प्राथमिकता दिइएको बताउनु भयो ।
शिक्षाको विकास विना अन्य क्षेत्रको विकास सम्भव नभएको भन्दै उहाँले नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलागि महत्वपूर्ण योजनाहरु सचालन गरीरहेको बताउनु भयो । नगरका बिद्यालयहरुको भौतिक तथा गुणस्तरीय शिक्षा प्रणालीको विकासमा प्रयासरत रहेको र त्यसमा साथ दिन उहाँले सबैलाइ आग्रह गर्नु भयो ।
पहिलो चरणमा नगरका केही बिद्यालयहरुको भौतिक संरचना निर्माण तथा शैक्षिक विकास सम्बन्धि कार्यक्रमकालागि बजेट विनियोजन गरीएको र बाँकी बिद्यालयहरुलाइ पनि क्रमैसंग बजेट उपलब्ध गराइने उहाँले बताउनु भयो । शिक्षा क्षेत्रमा बुटवलले देशमै गर्भ गर्न लायक स्कुलहरु रहेको उल्लेख गर्दै उहाँले नगरका साना बिद्यालयहरुलाइ पनि स्तरोन्ती गर्दै गुणस्तरीय शिक्षा प्रणालीको विकास गरीने बताउनु भयो ।
नगरमा प्राविधिक शिक्षाको विकासकालागि विटिआइमा डिप्लोमा इन सिभिल इन्जिनीयरीङ, अटो भिलेजमा व्याचलर अफ अटो इन्जिनीयरीङ, आम्दालाइ पारामेडिकल कलेज बनाउने, सेमलारमा विएससि एजी संचालनकालागि सम्भाब्यता अध्ययन गर्ने लगायतका योजना रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद लामीछाने,नेपाली काँग्रेस बुटवल नगरसमितिका उपसभापति ज्योती भण्डारी,नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसाल,शिक्षक संघका संघीय प्रतिनिधि पुरुषोत्तम भट्टराइ,शिक्षक संघका जिल्ला उपाध्यक्ष रुपकुमार रायमाझी,टे«ड युनियन काँग्रेस रुपन्देहीका सचिव हिम बहादुर केसी,नेपाल शिक्षक महासंघका जिल्ला सचिव लिलाधर न्यौपाने,शिक्षक महासंघ बुटवल नगर अध्यक्ष टिका पौडेल, शिक्षक संघका पुर्व क्षेत्रीय अध्यक्ष प्रकाश गौतम, नवरत्तन माविका प्रअ हेमराज आर्चाय लगायतले बोल्दै तीनै तहका सरकारले शिक्षा क्षेत्रलाइ विकासको पहिलो प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए ।
संघका बुटवल नगरसमिति अध्यक्ष शिव प्रसाद अर्यालको अध्यक्षता सचिव सन्तोष पछाइको संचालन र उपाध्यक्ष आशा बस्नेत थापाको स्वागतमा भएको कार्यक्रममा संघमा आवद्ध निमित्त शिक्षकहरु,बढुवा भएका शिक्षकहरु,बुटवलमा सरुवा भइ आएका शिक्षक र नयाँ सदस्यता लिने शिक्षकलाइ सम्मान गरीएको थियो ।
यसैबिच नेपाल शिक्षक संघ बुटवल नगरसमितिको अध्यक्षमा शिव प्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन । शनिबार सम्पन्न संघको दोश्रो अधिवेशनले अर्यालको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा सन्तोष पछाई र अम्बिका अर्याल,सचिव भरतमणि घिमिरे, सचिव अर्थमा शिवा पोख्रेल,सहसचिवमा खुमराज पौडेल, सिवा कुमारी अर्याल,टिकाराम शर्मा,शोभा अधिकारी ज्ञवाली,हरि प्रसाद पोखरेल निर्विरोध निर्वाचित भएका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)