बुटवल,फागुन ८ ।
दारी ग्याङले रुपन्देहीको बुटवलमा राष्ट्रिय सम्मेलन गरि नयाँ नेतृत्व चयन गरेको छ । फागुन ६ र ७ गते बुटवलमा भएको अधिवेसनले दीपेश सिग्देलको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जगदीश भण्डारी, सचिवमा मधुसुधन काफ्ले, सहसचिवमा अभिमन्यू पाण्डे र कोषाध्यक्षमा वसन्त पहारीलाई सर्वसहमतिमा चयन गरिएको छ।
यसैगरि सदस्यहरुमा प्रदेश १ बाट विपुल पोखरेल र नुतन ढकाल, मधेस प्रदेशबाट ईश्वर दाहाल, लुम्विनीबाट असल सुवेदी, वागमतीबाट प्रशान्त आचार्य, गण्डकीबाट सुमन कार्की र सुदुरपश्चिमबाट दिनेश बोहोरा चयन हुनु भएको छ । बाँकी १ सदस्य कार्य समितिले पछि मनोनित गर्ने बताइएको छ ।
यसअघि फेसबुक ग्रुपमा मात्र सिमित रहेको दारी ग्याङलाई गैरनाफामुलक कम्पनिको रुपमा दर्ता गरेर राष्ट्रिय सम्मेलन गरि नयाँ कार्य समिति चयन गरिएको निवर्तमान अध्यक्ष प्रदीप गैरे वार्वरिकले जानकारि दिनुभयो । अब देशव्यापि रुपमा साधारण सदस्यता वितरण गरि जिल्ला र प्रदेशमा समेत संगठन विस्तार गरि अघि बढ्ने नवनिर्वाचित अध्यक्ष दीपेश सिग्देलले बताउनु भयो ।
सात वर्ष अघिदेखि फेसबुक ग्रुपको रुपमा युवाहरु माझ लोकप्रिय रहेको दारी ग्याङले विभिन्न सामाजिक काम गर्दै आएको छ। देशभरका ४९ जिल्ला र देश बाहिर समेत दारि ग्याङका समूहहरु सकृय छन् भने दारी ग्याङको आधिकारिक फेसबुक ग्रुपमा १ लाख भन्दा बढी युवाहरु जोडिएका छन् ।
सुरुमा दारि पाल्न रुचाउने युवाहरु मात्र आवद्ध यो ग्रुपमा पछिल्लो समय सामाजिक भावनाका साथ सामाजिक गतिविधिमा सकृय अरु युवाहरु पनि जोडिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)