चितवन,फागुन २ ।
नवलपरासीको गैंडाकोटमा सम्पन्न दोस्रो मेयरकप टी-२० क्रिकेटको उपाधि चितवनले जितेको छ । तनहुँविरुद्ध ५२ रनको फराकिलो जित निकाल्दै चितवनले उपाधि जितेको हो । नव जागरण ग्रामीण विकास केन्द्रको मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ५८ रन बनायो । चितवनको ओपनिङ कमाण्ड सम्हालेका साकार ढकालले अर्धशतकीय पारी खेल्दै मध्यम स्कोर खडा गरे ।
५४ बल खेलेका उनले ६ छक्का र १ चौका प्रहार गर्दै ६४ रन बनाए । उनी १८ औं ओभरको तेस्रो बलमा आउट हुदाँ टिमको स्कोर १ सय २८ रन बनेको थियो ।यस्तै प्रतिक श्रेष्ठले २३ बल खेल्दै ३९ रन जोडे । कप्तान दिपेश श्रेष्ठ २२ र बिकल गुप्ता १७ रन बनाउदै अविजित रहे ।बलिङमा तनहुँका प्रदीप अर्यालले २ तथा कप्तान चन्द्रकान्त पौडेल, सुवास खत्री र दिवस आचार्यले समान १ विकेट लिए ।१ सय ५९ रनको विजय लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ थालेको तनहुँ १४ बल बाँकी छदै सबै विकेट गुमाएर १ सय ६ रनमा समेटिन पुग्यो ।
तनहुँका लागि मध्यक्रममा अशोक पौडेलले सर्वाधिक ४३ रन बनाए । यस्तै चन्द्रकान्त पौडेले १७, सुवास खत्रीले १३ र दिपेश बुढा मगरले ११ रन बनाए ।त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा चितवनका कप्तान दिपेश श्रेष्ठले ३, क्रिजन गुरुङ र दानिस इकबाल २/२ र हरि चौहानले १ विकेट लिए ।
चितवनका लागि अर्धशतकीय पारी खेलेका साकार ढकाल खेलको प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई पनि विधागत अवार्डद्वारा सम्मान गरिएको थियो ।प्रतियोगितामा १ सय १६ रन बनाएका नवलपुरका ब्याटर सन्तोष कार्की बेष्ट ब्याट्सम्यान चुनिए ।
कुल ६ विकेट लिएका तनहुँका सुवास खत्रीले बेष्ट बलरको अवार्ड पाए ।ब्याटिङमा ७३ रन जोड्दै बलिङमा ३ विकेट लिएका तनहुँका अशोक पौडेल प्लेयर अफ द सिरिज घोषित भए ।
इमर्जिङ प्लेयरनवलपुरका गौरव बिक भए भने बेष्ट फिल्डरको अवार्ड चितवनका हरि चौहानको नाममा रह्यो ।बेष्ट विकेट किपर तनुहँका समर कडेलले पाउदा फेयर प्ले टिमको अवार्ड बाग्लुङले पायो ।
प्रतियोगिताको विजेता टोलीले २ लाख नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टोलीले १ लाख ५० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । माघ २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)