बुटवल,माघ २४ ।
नेपालमा संघीयता आर्थिक रुपले बढी खर्चीलो भएको राजनीतिक दलका नेताहरुले बताएका छन् । सैद्वान्तिक रुपले संघीयता ठिकै भएपनि आर्थिक र भौगोलिक हिसावले नेपालको हकमा संघीयता ठिक नभएको बताए । उत्पीडित वर्ग, समूदाय र क्षेत्रको अधिकारसंग संघीयता जोडिएपनि संघीयताले अधिकार दिनुको सट्टा देशलाई कमजोर बनाएको बताए ।
राष्ट्रिय जनमोर्चा लुम्बिनीले मंगलबार बुटवलमा आयोजना गरेको गणतन्त्र, राष्ट्रियताको रक्षा र संघीयताविरुद्व संघर्षको प्रशन विषयक अन्तरक्रियामा बोल्ने दलका नेताहरुले राष्ट्रियताको विषय गम्भीर बन्दै गएको बताए ।राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सबालमा वामपन्थीबीच सहकार्य र एकता आवश्यक रहेको उनीहरुको साझा धारणा छ ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले संसदबाट एमसीसी सम्झौता पारित भएपछि नेपाल, चीन विरुद्वको अमेरिकी शैन्य गठबनधनमा सामेल भएको दावी गरेका छन् । राष्ट्रिय जनमोर्चाकी केन्द्रिय सदस्य तथा प्रदेश सांसद तारा थापाले संघीयता, नागरिकता विद्येयक, एमसीसी र एसपीपीले राष्ट्रियता कमजोर भएको बताए ।
नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य पे्रम सुवेदीले राष्ट्रियतामाथि बैदेशीक हस्तक्षेप बढेकाले राष्ट्रियताको आन्दोलनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।नेकपाका व्यूरो इन्चार्ज बसन्त श्रेष्ठले नेपालमा अहिलेको जस्तो संघीयता ठिक नभएको बताउंदै समाजवादी संघीयता ठिक हुने दावी गरे ।नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य विश्वराज बरालले राष्ट्रियताको विषय गम्भीर भएर आएकाले एकले अर्काको बिरोध गर्नुभन्दा राष्ट्रियताको विषयमा एक ठाउं हुनुपर्ने बताए ।नेपाली कांगे्रसका रामबहादुर कार्कीले संविधान कार्यान्वयन नहुंदा प्रतिगमनको खतारा रहेको र राष्ट्रियतामाथि प्रश्न चिन्ह खडा भएको बताए ।
राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले राजावादी, एमाले, भारतीय साम्राज्यवादको धर्म निरपेक्षतालाई समाप्त गर्ने उद्वेश्यका पछाडी हिन्दु धर्मको नाममा राजतन्त्र पुनस्र्थापना गर्ने खेल रहेको दावी गरे ।वामपन्थी बुद्विजीवी लिलाबहादुर केसीले संघीयताका कारण नेपालको गणतन्त्र र राष्ट्रियता दुवैलाई खतरा भएकाले संघीयताको शासकीय स्वरुप प्रदेश खारेज गर्नुको नेपालमा अर्को कुनै विकल्प नभएको दावी गरे ।राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्रीको अध्यक्षता, सोमकुमार कार्कीको सञ्चालन र शेरबहादुर विसीको स्वागतमा कार्यक्रम भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)