Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रविकाे अभिब्यक्तिपछि प्रेस युनियनले भन्यो -‘मिडियालाई घेराउ गर्नेसम्मको अभिव्यक्ति दिनु अशोभनीय’

रविकाे अभिब्यक्तिपछि प्रेस युनियनले भन्यो -‘मिडियालाई घेराउ गर्नेसम्मको अभिव्यक्ति दिनु अशोभनीय’

  • 3.2K
    SHARES

  • रविकाे अभिब्यक्तिपछि  प्रेस युनियनले भन्यो -‘मिडियालाई घेराउ गर्नेसम्मको अभिव्यक्ति दिनु अशोभनीय’

    बुटवल,माघ २२ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समग्र पत्रकारिता क्षेत्रलाई बद्नाम गर्ने ध्येयले प्रमाणहीन आरोप लगाएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ । 

    मुलुकको नेतृत्व लिएर सुधार गर्ने प्रतिवद्धतासहित आएका राजनीतिकर्मी र सञ्चारमाध्यमलाई दोषारोपण गरेर आफू चोखिन खोज्नु साह्रै दुःखद पक्ष रहेको युनियनका महासचिव दिलिप पाैडेलद्वारा जारी प्रेस विज्ञप्ति भनिएको छ ।

    प्रेस विज्ञप्ति :

    संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना कमी–कमजोरी ढाकछोप गर्न सञ्चार माध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बद्नाम गर्ने ध्येयले प्रमाणहीन आरोप लगाएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली पत्रकारिता क्षेत्रले पञ्चायतकाल, २०४६,२०६२-६३ को राजनीतिक परिवर्तन गर्न ठूलो जोखिम मोलेर मुलुकको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राजनीतिक तथा नागरिक अधिकारको पक्षमा खेलेको भूमिका सबैलाई अवगत छ । मिडियाले मुलुकमा भएका ठूला–ठूला भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन् ।

    पूर्व सञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बद्नाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन् । आमनागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक छन् भन्ने बुझाइ युुनियनको छ । लामिछाने जो आफैं सञ्चारकर्मबाट जनताका मुद्दा उठाएर परिचित भएपछि मात्र यो स्थानमा पुगेका हुन् ।

    सञ्चारकर्मबाटै राजनीतिक आधारभूमि तयार पारेका लामिछानेले पत्रकारितालाई दुस्मनकोे जस्तो व्यवहार गरेर मिडियालाई घेराउ गर्नेसम्मको अभिव्यक्ति दिनु अशोभनीय छ । एउटा परिपक्व राजनीतिकर्मीबाट यस्तो धम्कीपूर्ण भाषा प्रयोग हुने कल्पना समेत गर्न सकिँदैन । प्रमाणहीन आरोप लगाएर नेपाली सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठाउने काम नगर्न युनियन आग्रह गर्दछ । सञ्चार माध्यमले प्रकाशन गरेका सामग्रीको बारेमा चित्त नबुझे कानुनी उपचारमा जान सक्ने विकल्प हुँदाहुँदै सञ्चारमाध्यमकै मानमर्दन गर्नु निन्दनीय छ ।

    नेपाली राजनीति र समाजका अन्य सबै क्षेत्रमा कमजोरीहरू छन्, त्यसमा सञ्चारमाध्यम पनि अछुतो नहोला ।पत्रकारिताका कमी, कमजोरीलाई विधि र पद्धतिबाटै सुधार गर्दै लैजानुपर्छ भन्ने मान्यता युनियनले राख्छ । मुलुकको नेतृत्व लिएर सुधार गर्ने प्रतिवद्धतासहित आएका राजनीतिकर्मी र सञ्चारमाध्यमलाई दोषारोपण गरेर आफू चोखिन खोज्नु साह्रै दुःखद पक्ष हो ।

    लामिछानेको नागरिकताको विषयमा सञ्चारमाध्यमले जनतासम्म सूचना पु¥याएकोमा आक्रोश पोखेको देखिन्छ । अदालतको फैसला अनुसार उनले गैरकानुनी रूपमा राखेको नागरिकता मात्रै नभएर समाजमा विद्यमान अन्य बेथिति, विसंगति, भ्रष्टाचार र अनियमितताको विषयमा नेपाली प्रेस अझै दृढ रूपमा प्रस्तुत हुने अठोटसमेत व्यक्त गर्दछौं ।
    प्रेस युनियन विधिको शासन, लोकतन्त्र, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारितामाथि विश्वास राख्दछ । अपरिपक्व, गैरजिम्मेवार अभिव्यक्ति नदिन, जवाफदेही राजनीतिकर्मीको रूपमा आफ्ना विचार राख्न, पत्रकारिता क्षेत्रलाई सम्मान गर्न नेपाल प्रेस युनियन आग्रह गर्दछ ।

     दिलीप पौडेल
     महासचिवunion.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology