Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शून्य पोलिथिन अभियान सुरु

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शून्य पोलिथिन अभियान सुरु

  • 999
    SHARES

  • रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शून्य पोलिथिन अभियान सुरु

    बुटवल,माघ १५ ।

    रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि शून्य पोलिथिन अभियान सुरु गरिएको छ। पोलिथिनजन्य फोहोरले लुम्बिनी भ्रमणमा आउने पर्यटक र त्यहाँको वातावरणमा नकारात्मक असर परेको भन्दै नगरलाई सफा र स्वच्छ बनाउन अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ।  

    अबको ६ महिनासम्म सञ्चालन हुने यो अभियान ग्रीनरी नेपाल संस्थाले चलाउने छ भने लुम्बिनी सांस्कृतिक नगरपालिकाले आर्थिक सहयोग गर्नेछ। शून्य पोलिथिन अभियानको रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले आईतबार शुभारम्भ गरेका हुन्।

    उक्त अभियानको शुभारम्भ गर्दै सांसद घिमिरेले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकोले यो ठाउँ स्वच्छ र सरसफाइयुक्त हुनुपर्ने बताए। ‘शान्तिको खोजी गर्दै विश्वभरका बौद्ध अनुयायीहरु बुद्ध जन्मस्थल लुम्बिनी आउने गर्छन्, ‘लुम्बिनीलाई सफा राख्न सके मात्र पर्यटकहरुका अगाडि नेपालकै राम्रो पहिचान राख्न सकिन्छ,’ घिमिरेले भने। 

    यसअघि आफू नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई शुन्य खुला पोलिथिनमुक्त नगर बनाउन सफल भएको उल्लेख गर्दै सांसद घिमिरेले जनसहभागिता जुटाएर गर्ने कुनै पनि अभियान सफल हुने बताए।

    जनसहभागितामा गरिने जुनसुकै अभियानले पनि सकारात्मक परिणाम दिने घिमिरेको भनाई थियो।polithin.jpg

    यस्तै लुम्बिनी प्रदेशसभाका सदस्य चन्द्रकेश गुप्ताले पर्यटकलाई आकर्षित गर्न र उनीहरुको बसाई लम्ब्याउन लुम्बिनी सफा र स्वच्छ हुनुपर्ने बताए। ‘माई पकेटः माई फष्ट डष्टबिन’ अवधारणालाई लुम्बिनीमा पनि कार्यान्वयन गराउन सके अभियान सफल हुने गुप्ताले बताए।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हृदयरत्न बज्राचार्यले पोलिथिनजन्य फोहोरले पर्यावरण र जलवायुमा नकारात्मक असर परेकोले विद्यालयदेखि विश्वविद्यालय तहसम्म यसबारे जनचेतना फैलाउन आवश्यक रहेको बताए। 

    लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले अभियानमा जनप्रतिनिधि, सामाजिक तथा व्यवसायिक संघसंस्थालाई सहभागी गराई ६ महिनासम्म सरसफाई अभियान सञ्चालन गरी नगरलाई पोलिथिन शून्य बनाउने जानकारी दिईन्। ग्रीनरी नेपालका अध्यक्ष निपेश ढाकाका अनुसार अभियानमा संस्थाका २२ जना स्वयंसेवक सचेतना अभिवृद्धिका साथैं फोहोर संकलन, फोहोर वर्गीकरण र फोहोर बिसर्जनमा खटिने छन्।

    लुम्बिनीसँगै सिमा जोडिएका गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल र शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले बुद्ध जन्मस्थल लुम्बिनीलाई पोलिथिन शून्य बनाउने अभियानमा आफुहरुको पनि साथ रहने बताएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology