बुटवल,माघ ९।
तिलोत्तमा ५ स्थित शान्ति नमुना मावि मणिग्राममा सोमबार तीनवटा कार्यक्रम सम्पन्न भएका छन् । ६४ औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार हाजिरी जवाफ प्रतियोगिता , रक्तदान र फुड फेस्टिबल सम्पन्न भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले यसता कार्यक्रमले विद्यार्थीबिच मित्रताको भावना जगाउँदै विद्याथीमा उर्जा थप्ने काम गरेको बताए । नगर प्रमुख खाँडले सामुदायिक र संस्थागत विद्यालय एकै सिक्काको दुई पाटा भएको बताउँदै नगरले कहिले पनि यी दुईबिच भेदभाव नगरेको दावी गरे ।
उनले भौतिक विकासलाई मात्रै विकास मान्न नहुने भन्दै त्यसका लागि मानवीय विकासको जरूरी भएकोले मानवीय विकासतर्फ अग्रसर भएकोमा जोड दिए । उनले तिलोत्तमा नगरलाई मानवताको शहर बनाउने प्रतिवद्धता व्यक्त गर्दै यश नगरको छुट्टै पहिचानका लागि सबैको सहयोग जरूरी रहेको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष शरद भट्टराईले बालबालिकालाई पढ्ने वातावरण सहजरूपमा बनाउनुपर्नेमा जोड दिए । यस्तै पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले हरेक कुरामा विद्यार्थीहरूलाई अग्रसर गराउनु विद्यालय र अविभावकको दायित्व भएको बताए ।
सोमबार विद्यालयमा सम्पन्न रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विष्णुप्रसाद अर्यालले जानकारी दिएका छन् । युवा रेडक्रस सर्कल शान्ति नमुना माविको अयोजनामा भएको सो कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।
तस्तै फुड फेस्टिबलमा कक्षा आठ , नौ , कक्षा एघार , बाह्र र डिप्लोमा होटल म्यानेजमेन्टका विद्यार्थीहरू सहभागी भएका थिए । फुड फेस्टिबलमा विद्यार्थीहरूले आवश्यक सामग्रीहरूको व्यवस्थापन आँफै गरेको कार्यक्रम संयोजक सुशिला पाण्डेले जानकारी दिइन् । फुड फेस्टिबलमा विद्यार्थीहरूले पास्ता , मम , फुल्की , चटपट , सेलरोटी , अचार , ढिकरी , मन्चुरियन , पकौडालगायतका परिकार बनाएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष शरद भट्टराईको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन शिक्षिका रजनी केशीले गरेकी थिइन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)