रूरू,माघ ८ ।
गुल्मीको रूरूक्षेत्र गाउँपालिकाका १५५ जना भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ।राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी ११५ जनालाई तीनपुस्ते विवरण भिडाई निस्सा वितरण गरिएको जिल्ला समिति गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिए। अब उनीहरुको नापी नक्सा जाँच अविलम्ब शुरु गर्ने गरी आफूहरुले तयारी गरेको ठकुरीले बताए।
१८५ जनामध्ये ३० जनाको तीनपुस्ते विवरण नभिडेकाले उनीहरूको तीनपुस्ते विवरण भिडाउन आयोगले स्थानीय तहसँग समन्वय गरिरहेको समेत ठकुरीले बताए।
रुरुक्षेत्रमा १० जना भूमिहीन दलित, १६ जना भूमिहीन सुकुम्बासी र १४७ जना अव्यवस्थित बसोबासीको विवरण संकलन भएको आयोगले जनाएको छ। निस्सा वितरणलाई सम्बोधन गर्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले भूमिहीनलाई जग्गाको मालिक बनाउन गाउँपालिकाले गर्नुपर्ने कुनै कसर बाँकी नराख्ने भन्दै आयोगसँगै सहकार्य गरेर जान आफू तयार रहेको बताए। जतिसक्दो छिटो लालपुर्जा वितरण गर्न आयोगलाई आग्रह गर्दै ज्ञवालीले स्थानीय तह आयोगको साथमा रहेको बताए।
जिल्लाका १२ स्थानीय तहमा २८५ जना भूमिहीन दलित, २३६ जना भूमिहीन सुकुम्बासी र १ हजार ६२६ जना गरी कूल २ हजार १४७ जनाको तथ्यांक रहेको ठकुरीले बताए।
जिल्लामा विगतका आयोगले ७७२ जनालाई वितरण गरेका लालपुर्जाका काम अधुरो रहेको जिल्ला समिति गुल्मीले जनाएको छ। ७७२ जनाको हातमा लालपुर्जा भए पनि उनीहरूको नापी नक्सा नभएको, तिरो नचलेको र सो लालपुर्जामा भएको जग्गाको कुनै सहकारी वा बैंकमा धितो पनि नचल्ने भएकाले अधुरो र अपुरो काम पूरा गर्न आफूहरू लागेको अध्यक्ष ठकुरीले बताए।
अधुरो अपुरो कामबारे दुई पटकसम्म ३५ दिने सूचना जारी गर्दा १९५ जनाले निवेदन दिएको भन्दै उनीहरूको ७ दिने दावी विरोधको सूचनामा १२ जनाको दावी परेको जिल्ला समिति गुल्मीले जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)