बुटवल,पुस १६ ।
गुल्मीको रूरूक्षेत्र गाउँपालिका १ ठाडाबाटाकी ११२ वर्षीया इन्द्रकुमारी क्षेत्रीको निधन भएको छ । उनको हिजो घरमै निधन भएको हो । गाउँमा उनलाई जम्दार्नी आँबै उपनामले सबैले चिन्ने र बोलाउने गर्दथे ।
उनी गाँउकै सबैभन्दा जेठो उमेरकी थिइन् । हजुरआमाको एक सय १२ वर्षको उमेरमा निधन भएको इन्द्रकुमारीका नाती बसन्त क्षेत्रीले नागरिक अनलाइनलाई बताए ।उनले केही वर्षअघि आफ्नै छोराको चौरासी पूजा गराएकी थिइन् ।
स्थानीयले उनलाई छोराको चौरासी हेर्न पाउने ‘भाग्यमानी आमा भन्दै आएका थिए ।आँबैका श्रीमानको भने ३० वर्ष अगावै मृत्यु भएको उनले बताए । जम्दार्नी आँबैका जेठा छोरा धनबहादुर सुवेदी क्षेत्रीको चौरासी पूजा इन्द्र कुमारी सुवेदी क्षेत्रीले गएको असारमा गराइदिएकी थिइन् ।
उनले त्यो समयमा अझै दुई छोराको चौरासी पूजा गराइदिने बताए पनि त्यो उनको सपना भने अधुरो रहेको स्थानीयको भनाइ छ । विक्रम सम्वत १९६९ मा वीरबहादुर क्षेत्रीकी जेठी छोरीको रूपमा जन्मेकी इन्द्र कुमारी क्षेत्रीको विवाह पनि ठाडाबाटाकै पदम बहादुर सुवेदीसँग भएको थियो ।भारतको जिआरमा भर्ती भएका उनका श्रीमान् भारतीय फौजमा जम्दारको दर्जा पाएपछि बुढालाई जम्दार र उनलाई जम्दार्नी भनेर सबैले बाेलाउथे/चिन्थे ।
उनले सो क्षेत्रका हरेक सामाजिक विकासमा सहयोग पुर्याउँदै आएकी थिइन् । स्कुल, मठमन्दिरमा उनले सधैँ सहयोग गर्ने गरेकी थिइन् ।जेठा छोरा धनबहादुर र बुहारी तुल्सा सुवेदीसँग बस्दै आएकी जम्दार्नी आँबैले सबैलाई उत्तिकै माया गर्ने गर्थिन् । उनका तीनभाई छोराबुहारी, नातिनातिना, पलाँति खलाँति गरी चार दर्जन परिवार सदस्य छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)