बुटवल,पुस १५ ।
पैँचो पसल प्रालि आठ वर्षमा प्रवेश गरेको छ । गुल्मीमा स्थापना भइ देशभर पहाडको कृषिजन्य उत्पादनको बजारीकरण गरिरहेको पैचोले आज बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज बिहान सम्पन्न रक्चदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमको पैचोका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले दीयो बालेर उदघाटन गरे । रक्तदान कार्यक्रममा पैचोमा आवद्ध लगानीकर्ता तथा कर्मचारीहरु, रुपन्देही रक्तदाता समुह सहित होटल पौवाका कर्मचारी र पत्रकारहरुले रक्तदान गरेका छन् ।
रक्तदानका अवसरमा बोल्दै पैचोका अध्यक्ष भण्डारीले मानविय सेवा अन्तर्गत हरेक वर्ष झै यस वर्षपनि पैचोले रक्तदान गरेर वार्षिक उत्सव मनाएको जनाए ।
सृजनशिल कार्य गरेको भन्दै पैचोले यस अघि राष्ट्रपति युवा पुरस्कार, लुम्बिनी प्रदेश रत्न, ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ अवार्ड लगायतका पुरुसकार तथा पदकबाट विभूषित भइसकेको छ ।
शहरी उपभोक्तालाई उच्च र हिमाली क्षेत्रको ताजा फुलफुल तरकारी उपलब्ध गराउने तथा पहाडी फलफूल र तरकारीलाई प्रशोधन गरि होटल रेसिपी तथा भान्छामा प्रयोग हुने विभिन्न खाद्य उत्पादनहरुको पैचोले उत्पादन तथा बजारिकरण गर्दै आएको छ । पैचोका उत्पादन यसैवर्षबाट संयुक्त राज्य अमेरिकामा समेत निर्यात गरिएको पैचोले जनाएको छ ।
पैचोबाट झण्डै ३० हजार किसान लाभान्वित भएका छन् भने ३ सय बढीले प्रत्येक्ष रोजगारी पाएका छन् । हरेक वर्षको पुस १५ गते पैचोले वार्षिक उत्सव मनाउँदै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)