कर्णाली,पुस ८ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो । उहाँले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासङ्घको साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।राष्ट्रपति भण्डारीले महासङ्घको साधारणसभासहित मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय समेत उद्घाटन गर्नुभयो ।
साधारणसभामा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रले अहिले पनि कर्णालीलाई चिन्न नसकेको टिप्पणी गर्नुभयो ।सो अबसरमा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल,नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा,नेकपा (एकीकृत समाजवादी) नेता जगन्नाथ खतिवडा,महासङ्घका पूर्व सभापति हरिहर विरही लगायतले बोलेका थिए ।
साधारणसभामा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई एक लाख नगद राशी रहेको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै,सुर्खेतका माया थापाले रु २० हजार राशीको गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार प्राप्त गर्नुभयो भने साधारणसभामा करिब दुई दर्जन पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।
साधारणसभामा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार सङ्गठनका केन्द्रीय अध्यक्षहरु शिव लम्साल, गणेश बस्नेत, विष्णुप्रसाद सापकोटा र विश्वमणि सुवेदीले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
भोलिसम्म सञ्चालन हुने साधारणसभामा सात सय ५० राष्ट्रिय परिषद् सदस्यहरुको सहभागिता रहेको सभापति बिपुल पाेखरेलले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)