बुटवल,पुस ६।
कांग्रेस महामन्त्री गगनकुमार थापाले मंसिर ४ गतेको चुनाव अघि नै आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए । अहिले संस्थापन बाहेकको समूहमा सर्वसम्मत बन्दै महामन्त्री थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् ।
कांग्रेसको दोस्रो पुस्ताले पार्टीको भविष्य उनैमा देखेको छ । कांग्रेसभित्र मात्रै हैन, राजनीतिक वृत्तमै चासो छ, नेपाली राजनीतिका कुटिल खेलाडीसमेत रहेका थापाले आफ्नै पार्टी सभापति शेरबहादुर देउवालाई पराजित गर्लान् ?
पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिँदै संसदीय दलको उम्मेदवार बनेका महामन्त्री गगन थापा नेविसंघबाट राजनीतिमा उदाएका हुन् ।
२०५१ सालमा त्रिचन्द्र क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनमा सदस्य निर्वाचित थापा २०५५ सालमा सभापति निर्वाचित भएका थिए । २ हजार ५७ सालमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदै २०५९ मा महामन्त्री बने । लोकतान्त्रिक आन्दोलन उठ्दै गर्दा २०५९ असोज १८ पछि तत्कालीन सरकारले थापालाई राजकाज मुद्दा लगाएको थियो ।
२०६२-०६३ को आन्दोलनमा गणतन्त्रका पक्षमा खेलेको भूमिकाले थापालाई चर्चित बनायो । अहिले उनले पुस्तान्तरणलाई मुद्दा बनाएका छन् ।
पार्टीको १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित थापा २०७२ सालको १३ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । गत वर्षको १४ औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भएका थापा २०६४ सालको संविधान सभामा समानुपातिकबाट सदस्य बनेका थिए।
दोस्रो संविधान सभामा काठमाडौं ४ बाट जितेका उनी अहिलेसम्म त्यही क्षेत्रबाट अपराजित छन् । २०७० सालमा उनी स्वास्थ्य मन्त्री बनेका थिए ।
कांग्रेसको दोस्रो पुस्ताले पार्टीको भविष्य उनैमा देखेको छ । तर संस्थापन पक्षले भने अहिले पार्टीमा परिपक्व र नेतृत्व जोड्ने नेता चाहिएको भन्दै सभापति देउवाकै वकालत गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)