काठमाडौं, पुस ४ ।
नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिको आज बसेको बैठकले बुधबार चुनाव गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक भीष्मराज आङ्देम्बेद्वारा जारी निर्वाचन कार्यक्रम अनुसार पुस ४ गते दिउँसो २ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । साथै, सोही दिन २ बजेर ३० मिनेटमा नामावली उपर दाबी विरोधका लागि समय तोकिएको छ भने अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, पुस ५ गते बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको छ । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक आङ्देम्बेले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुस ६ गते बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको निर्वाचनका लागि मतदान हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)