Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल बस्तीमाथिको विद्युत हाइटेन्सन हटाउन मेयरले गरे प्राधिकरणसँग माग

बुटवल बस्तीमाथिको विद्युत हाइटेन्सन हटाउन मेयरले गरे प्राधिकरणसँग माग

  • 1.7K
    SHARES

  • बुटवल बस्तीमाथिको विद्युत हाइटेन्सन हटाउन मेयरले गरे प्राधिकरणसँग माग

    बुटवल,पुस ३ ।

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्र बस्तीमाथि रहेको विद्युत हाइटेन्सन तार व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गर्नुभएको छ ।

    प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाडौंस्थित प्राधिकरणको कार्यालयमा भेटघाट गर्दै प्रमुख पाण्डेयले बस्तीमाथि रहेको हाइटेन्सन तारले बस्ती जोखिममा रहेको भन्दै बस्तीबाहिर सार्न आग्रह गर्नुभयो । 

    ‘लामो समयदेखि बुटवलको बस्तीमाथिको हाइटेन्सन तारले बस्तीलाई जोखिममा पारेको छ, कतिपय स्थानमा दुर्घटना हुने गरेका छन्, प्रमुख पाण्डेयले घिसिङको ध्यानाकर्षण गराउँदै भन्नुभयो–बस्तीमाथिको तार बस्तीबाहिर सार्नका लागि प्राधिकरणले योजना ल्याओस्, हामी सहयोग गर्न तयार छौं ।’

    नगरप्रमुख पाण्डेयले बुटवलमा शहरीकरण बढ्दै गएकोले खुला विद्युत तारहरुका कारण जोखिम बढेको बताउँदै भूमिगत गर्नका लागि योजना अघि सार्न पनि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको ध्यानाकर्षण गराउनुभयो ।

    ‘बुटवलको बढ्दो शहरीकरणलाई ध्यानमा राखेर प्राधिकरणले भूमिगत रुपमा विद्युत वितरण गर्ने र व्यवस्थित गर्नेतर्फ पनि योजना अघि बढाउनुपर्छ, उहाँले भन्नुभयो–जुनसुकै योजना ल्याउँदा बुटवललाई प्राथमिकतामा राख्न मेरो अनुरोध छ ।’ 
    नगरप्रमुख पाण्डेयले बुटवलमा उच्च क्षमताका सडक बत्ती राख्न बुटवल उपमहानगरपालिकाले तयारी गरेकाले सहयोग गर्नका लागि प्राधिरणका प्रबन्ध निर्देशक घिसिङलाई आग्रह गर्नुभयो ।

    भेटका क्रममा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बस्तीमाथिको हाइटेन्सन तार हटाउनका लागि प्राधिकरणले योजना अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले पाल्पामा सब स्टेशन निर्माण भएपछि बुटवलमा तार व्यवस्थापन र भूमिगत तारको लागि काम अघि बढाउनका लागि योजना ल्याउने विश्वास दिलाउनुभएको थियो । 

    मेयरले गराए सडक विभागको ध्यानाकर्षण :

    नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका सडक निर्माणलाई तीब्रता दिन सडक विभागको ध्यानाकर्षण गराउनुभएको छ । 

    नगरप्रमुख पाण्डेयले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग विभागको काठमाडौंस्थित कार्यालयमै भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराउनुभयो । 
    पटक पटक सहजीकरण र समन्वय गर्दापनि सडक निर्माणमा तीब्रता नदेखिएकाले बुटवलबासीको तर्फबाट सडक विभागसामु खेद व्यक्त गर्नुभएको थियो ।

    प्रमुख पाण्डेयले योगीकुटीदेखि चिडियाखोलासम्म आठ वटा स्थानमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाईट राख्नुपर्ने भएकाले त्यसमा सहयोग र सहजीकरण गर्न विभागका महानिर्देशक थापालाई आग्रह गर्नुभयो । 
    उहाँले सडक निर्माणसँग सडकको सौन्दर्यीकरणका बारेमा समेत चासो दिनका लागि थापालाई सुझाव दिनुभयो । 
    भेटघाटका क्रममा महानिर्देशक थापाले सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न विभाग प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई छिटो काम सक्न ताकेता गरिरहेको बताउँदै छिटै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । 

    ललितपुरका नगरप्रमुख महर्जनसँग भेट :

    बुटवल उपमहानगरप्रमुख पाण्डेयले ललितपूर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग भेट गरी विकास निर्माणका कामबारे जानकारी लिनुभएको छ । पाण्डेयले ललितपूर महानगरपालिकाले गरेका राम्रा अभ्यासहरु बुटवलका लागि उपयोगी हुने भन्दै आपसी सहकार्यमा काम गर्न इच्छुक रहेको बताउनुभयो ।

    उहाँले ललितपूरबाट सिकेर बुटवलले विकासमा फड्को मार्न सक्ने भन्दै ललितपूर महानगरप्रमुख महर्जनलाई बुटवल भ्रमणको निम्तो दिनुभयो ।

    भेटका क्रममा ललितपूर नगरप्रमुख महर्जनले आफु बुटवल आउन इच्छुक रहेको र बुटवलका राम्रा अभ्यासबाट ललितपूरले सिक्ने बताउनुभयो । उहाँले ललितपूर र बुटवलका बीचमा सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology