बुटवल,पुस २ ।
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा पार्टीमा छलफल भैरहेको बताउनु भएको छ । उहाँले दलको नेताको लागि नेताहरुको प्रतिस्पर्धा भईरहे पनि कसलाई बनाउने भन्ने विषयमा अझै टुंगो नलागेको बताउनुभयो ।
नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) को चौंथो राष्ट्रिय महाधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनु भएका उपसभापति गुरुङले संसदीय दलको नेताको लागि व्यक्ति भन्दा पनि एजेण्डालाई प्राथमिकता दिनु पर्ने भनाई राख्नुभयो ।
‘प्रधानमन्त्री दावी गर्न जति सजिलो छ, प्रधानमन्त्री बनेर काम गर्न त्यति सजिलो छैन ।’ उहाँले भन्नुभयो–‘एजेण्डा बोकेपछि गन्तव्यमा अवश्य पुगिन्छ ।’‘यसपटकको चुनावमा सात प्रतिशत मत घट्यो ,अब काँग्रेसको मत घटाउने होइन,बढाउने हो त्यसैले समय सापेक्ष नेतृत्व हुनुपर्छ ,नयाँ नयाँ पार्टी जन्मिएका छन्,उनीहरुसंग डराउनुपर्दैन,हामी काम गरौँ ।उनीहरुलाइ गाली गरेर मुक्ती पाइदैन। ’उहाँको भनाइ छ ।
प्रधानमन्त्रीको दावी गरिरहेका नेताहरुलाई आफ्नो सम्पत्ती छानविन गर्न तयार हुन पनि उहाँले आग्रह गर्नु भयो ।
मुलुकमा भ्रष्टाचार व्याप्त भएको उल्लेख गर्दै उहाँले आफू प्रधानमन्त्री भए भ्रष्टाचारीको ढाड सेक्ने काम बताउनु भयो । तर अहिले आफू त्यो रेसमा नरहेको पनि प्रष्ट पार्नुभयो ।
भ्रष्टाचारीलाइ दायाबाँया बोकेर देश नबन्ने बताउनुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्य,पूर्व अध्यक्ष खिलानाथ दाहाल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
आईतबार सम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
६३ जिल्लामा संगठन रहेको काउनको यो महाधिवेशनमा प्रतिनिधि पर्यावेक्षेक गरी ३५० बढी सहभागी रहेको काउनका केन्द्रीय अध्यक्ष जवि गुरुङले जानकारी गराउनु भयो । उहाँले अहिले समग्र श्रम आन्दोलन जटिल अवस्थामा रहेको बताउँदै समान काम समान ज्याला लगायतका मुद्धा पेचिलो बन्दै गएको बताउँदै कार्यान्वयनमा जोड दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)