बुटवल,पुस १ ।
कालिका मानवज्ञान माबिद्वारा आयोजित दोश्रो जिल्लास्तरीय रनिङशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले विद्यालयमा आयोजित समारोहमा खेलकुद प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै सदस्यसचिव घिसिङले खेलकुद अहिले शिक्षाको अभिन्न पाटो बनेको र खेलले विद्यार्थीलाई स्वस्थ, अनुशासित बन्न मद्दत पुग्ने भएकोले विद्यालयमै खेल्ने बाताबरण र प्रतिस्पर्धाका अवसरहरु उपलब्ध गराउनु पर्ने बताए ।
विद्यालय स्तरमा आयिजना गरिने खेलकुदका प्रतियोगिताहरु देशको लागि राम्रा खेलाडिहरु तयार गर्ने आधार भएकोले यस्ता कार्यक्रममा खेलकुद परिषदको सधै सहयोग रहने बताए ।कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कालिकाले गुणस्तरीय शिक्षा र विद्यार्थीहरुको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको र यसै अन्तर्गत जिल्लाभरका विद्यार्थीहरुलाई खेलमा अवसर प्रदान गर्नका लागि आफ्नै बलबुताले जिल्लास्तरीय रनिङ शिल्द प्रतियोगिता आयोजना गरेको बताए ।उदघाटन समारोहमा विद्यार्थीहरुले साङ्गितिक मिटि, मार्चपास र साँस्कृतिक झाकी प्रदर्शन गरेका थिए ।
उक्त कार्यक्रममा हालै सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर विभिन्न खेलमा पदक जित्न सफल विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
रनिङ शिल्ड प्रतियोगितामा ५० वटा विद्यालयहरु सहभागी भएका छन । प्रतियोगितामा एथलेटिक्स , कबड्डि , भलिबल लगायतका खेलमा प्रतिस्पर्धा हुने खेल संयोजक हरिश वलीले बताए ।मङलबार भलिबल प्रतिस्पर्धामा पर्ल सेकेन्डरी स्कूललाई तिलोत्तमा माबिले पराजित गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)