बुटवल,मंसिर २८ ।
निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० गरी कुल ८२५ जना सदस्य निर्वाचित भएको जनाएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुराको जानकारी दिनुभएको हो ।
जसअन्तर्गत प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६.९० प्रतिशत) र महिला ९१ जना (३३.१० प्रतिशत) निर्वाचित हुनुभएको छ भने प्रदेशसभातर्फ पुरुष ३५० जना (६३.६४ प्रतिशत) र महिला दुई सय जना (३६.३६ प्रतिशत) निर्वाचित हुनुभएको छ ।प्रमुख आयुक्त थपलियाले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएको जानकारी दिनुभयो ।
प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला २२५ र पुरुष दुई हजार १८६ गरी दुई हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला एक हजार १८७ र पुरुष एक हजार १२ गरी दुई हजार १९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।यसैगरी, प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि महिला २८०, पुरुष दुई ९४३ र अन्य एक गरी तीन हजार २२४ जनाको अन्तिम उम्मेदवारी कायम गरिएको थियो ।
सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला एक हजार ५११ र पुरुष दुई हजार १९७ गरी कुल तीन हजार ७०८ गरी अन्तिम उम्मेदवारको बन्द सूची कायम गरिएको आयोगले जनाएको छ ।यसअनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ र समानुपातिक प्रणालीका लागि कुल उम्मेदवारको सङ्ख्या जम्मा ११ हजार ५४२ रहेको आयोगले जनाएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि महिला ८८ लाख ४७ हजार ५७९, पुरुष ९१ लाख ४० हजार ८०६ र अन्य १८५ गरी कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम रहेका थिए ।अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरूमध्येबाट मतदाता नामावली ऐन २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा चार लाख ५० हजार मतदाता रहेका थिए ।
देशभर सम्पूर्ण मतदाताको सहजतालाई मध्यनजर गरी यस निर्वाचनमा १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।
हेराैँ सबै नतिजा :


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)