बुटवल, मंसिर २८ ।
कालिका मानवज्ञान माविले ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै छ । पुस १ देखि ७ गतेसम्म हुने सप्ताहब्यापी कार्यक्रम अन्तर्गत जिल्लास्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिताको दोस्रो संस्करण समेत आयोजना गरिने भएको छ ।
विद्यालय परिसरमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलन तथा शिल्ड अनावरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए । विसं ०४६ सालमा नगरस्तरीय रनिङशिल्ड खेलाईएको ईतिहास विद्यालयको रहेको उनले बताए ।
“त्यसपछि २०७८ मा जिल्लास्तरीय रुपमा खेलाउन थालिएको हो”–उनले भने । प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरी ७२ पदकमा खेलाडीहरुले प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको प्रथम, द्वितिय र तृतीय हुने टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले रनिङ शिल्ड अनावरण गर्दै खेलकुदमा लुम्बिनी प्रदेशमा अझै पनि नीतिगत र संरचनागत अभाव रहेको बताए ।
खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको उनले दुःखेसो गरे । प्रदेश संरचनामा खेलकुद गतिविधि अघि बढ्न नसकेको भन्दै नीतिगत, खेलकुद क्यालेन्डर, संरचना निर्माण हुन नसक्नु नै मुख्य चुनौती देखिएको उनले बताए ।
कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष होम बहादुर गलामीले शैक्षिकसंगै अन्य गतिविधिमा समेत विद्यालय निरन्तर अघि बढेको बताए । विद्यालयको भवन निर्माणसंगै खेलग्राम अभाव देखिएको उनले बताए ।
कार्यक्रममा बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठक, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ, विद्यालयका खेलकुद संयोजक हरिस ओलीले विद्यालयमा शैक्षिकसंगै खेलकुद गतिविधिबाट विद्यार्थीहरुमा सकारात्मक प्रभाव देखिने बताए । प्रतियोगितामा जिल्लाका ४५ वटा विद्यालयका २ हजार ४ सय खेलाडीहरु भाग लिने बिद्यालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)