बुटवल,मंसिर २२ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना निर्माण ८२ प्रतिशत पूरा भएको छ ।
सरकारले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ । यही मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आयोजनाको बाँध, पाइपलाइन र विद्युतगृह, प्रसारण लाइन सबै संरचनाको काम तीव्र गतिमा अघि बढेको उहाको भनाइ छ । अहिले बाँध क्षेत्रको काम ९० प्रतिशत सकिएको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो ।
अहिले विद्युतगृहको सिभिल संरचनाको काम ९५ प्रतिशत सकिएको छ । इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम भइरहेको आयोजना प्रमुख लेखनाथ पाण्डेले बताउनुभयो । आयोजनाको सबै काम वैशाखभित्र पुरा गरी जेठदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्दा आयोजनाबाट विद्युत उत्पादन गर्ने अवधि २०७९ साउनको अन्तिमलाई तोकिएको थियो तर पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण निर्माण अवधि एक वर्ष लम्बिएको छ ।सोही अनुसार विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) २०८० साउन ४ गतेलाई तोकिएको छ । तोकिएको समयभन्दा २ महिना अगावै उत्पादन सुरु गर्ने योजनासहित अघि बढेको पाण्डेले बताउनुभयो ।
आयोजनाबाट उत्पादित विद्युत ५ किलोमिटर दूरीमा रहेको प्राधिकरणको लाहाचोक सबस्टेसनमा जोडिनेछ । सबस्टेसनको आवश्यक १३२ केभी डबल सर्किट प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरिरहेको छ । प्रसारण लाइनको जग खन्ने काम भइरहेको छ ।
टावर खडा गर्ने तयारी गरिरहेको पनि पाण्डेले बताउनुभयो । आयोजना सम्पन्न गर्न ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । एनएमबीले २ अर्ब २० करोड, कर्मचारी संचय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन । बाँकी ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ स्वपुँजी लगानी छ ।
विद्युत प्राधिकरणले यो आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा किन्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)